काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म (बिआरटी) द्रुत बस सञ्चालनमा छ। नेपालमै पहिलो पटक सुरु भएको बिआरटी सेवा सञ्चालनको केही दिनबाटै अलोचना सुरु भइसकेको छ।
सार्वजनिक यातायात विज्ञ आशिष गजुरेलले पर्याप्त अध्ययन र तयारी नहुँदा पूर्ण त सफल हुनेमा शंका व्यक्त गरेका छन्। उनका अनुसार १० वर्षदेखि द्रुत बस सञ्चालन गर्ने चर्चा चल्दै आए पनि कार्यान्वयन भएको थिएन। सोही कारण परीक्षणको रुपमा चलाउनलाई सुझाव दिए पनि तयारी नपुगेको उनको भनाइ छ।
‘प्रधानमन्त्री कार्यालयमा छलफल हुँदा १० वर्षदेखि चर्चा गरेर कार्यान्वयन नभएको द्रुत बसलाई चलाउनुपर्छ भनेर सुझाव दिने म पनि हो, तर यसका लागि आवश्यक अध्ययन एवं तयारी पर्याप्त छैन’ विज्ञ गजुरेल भन्छन्, ‘२/४ हप्ता अध्ययन गरेर लागु गर्दा सफल हुने सम्भावना कम हुन्छ, त्यसैले बस सञ्चालनलाई मैले अध्ययनकै एउटा पाटोको रुपमा मात्र बुझेको छु।’
उनका अनुसार वैज्ञानिक रुपमा द्रुत बस सेवा लागु गर्न सडकको संरचना छुट्टै बनाउने, बस पनि व्यवस्थित राख्ने, टिकट सिस्टम आधुनिक बनाउनेलगायत काम गर्नुपर्छ। तर, यहाँ तत्काल त्यस्तो सम्भव नभएकाले ‘पढेर सिक्नेभन्दा पर्दै सिक्दै’ जानुपर्ने उनको भनाइ छ। सर्वसाधारणबाट पाउने सुझाव, यातायात व्यवसायीले सरकारलाई गर्ने सहयोगका विषयमा बुझ्न पनि अहिले बस चलाएपछि सहज हुने उनले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिकहरु भने द्रुत बस सेवाको तत्काल आलोचना गर्न आवश्यक नभएको बताउँछन्। मन्त्रालयका सहसचिवहरु अर्जुनजंग थापा र उमेशविन्दु श्रेष्ठ नेपालमा परीक्षणको रुपमा चलेको द्रुत बस सेवा प्रभावकारी नभए पनि आलोचना गर्न हतार गर्नु नहुने तर्क गर्छन्।
द्रुत बस भक्तपुरको सूर्यविनायक–कोटेश्वर–नयाँबानेश्वर–माइतिघर हुँदै रत्नपार्कसम्म चल्छन्। तर, सञ्चालनको दिनबाट बानेश्वर क्षेत्रमा शिक्षकहरुको आन्दोलन सुरु भएपछि सेवा प्रभावित बन्यो। उक्त आन्दोलन १० दिनपछि शुक्रबारबाट स्थगित भयो। त्यसो त यही बीचमा स्वाथ्यकर्मीहरुले पनि आन्दोलन स्थगित गरेका छन्।
जसले गर्दा द्रुत बस सेवा प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ छ। सहसचिव थापा भन्छन्, ‘ट्रायलका रुपमा द्रुत बस सेवा सुरु गरेको हो। तर, त्यहि बेला बानेश्वर क्षेत्र आन्दोलन गर्नेले क्याप्चर गरे, जसले गर्दा हाम्रो सेवा प्रभावकारी भएको छैन।’
सामान्य अवस्थामा समेत उपत्यकाका सवारी साधन अत्याधिक जाममा पर्छन्। त्यहि सडकमा एउटा लेन जम्मा २४ वटा बसका लागि छुट्याउँदा बाँकी सवारी साधन धेरै समय जाममा बस्नु पर्ने बाध्यता छ। सहसचिव थापाले द्रुत बस सेवाको सिस्टम नै त्यस्तै भएकाले विरोध गर्न नहुने बताए।
‘एक लेन खाली अरु लेनमा जामभन्दै अहिले विरोध गरेको सुनिन्छ। तर, त्यो उचित होइन यसको वास्तविकता बुझ्नु पर्छ’ उनले भने ‘विश्वमा जहाँ हेरे पनि द्रुत बसको सिस्टम नै त्यस्तै हो, एउटा लेनमा तोकिएका बस मात्रै चल्छन् अरु सवारीसाधन चलाउन पाइदैन।’
त्यस्तै अर्का सहसचिव श्रेष्ठ पनि द्रुत बसको विषयमा अहिले नै आलोचना गर्न नहुने तर्क गर्छन्। उनका अनुसार द्रुत बस सञ्चालनको मुख्य उद्देश्य निजी सवारी साधनलाई क्रमशः विस्थापित गर्दै जानु हो। निजी सवारीसाधनमा चढ्नेलाई जाम÷समस्या हुन्छ भनेर सार्वजनिक सवारी चढ्नेलाई वेवास्ता गर्न नहुने श्रेष्ठको भनाइ छ।
‘सार्वजनिक सवारीलाई छिटो र छरितो बनाएर निजीलाई निरुत्साहन गर्दै सबैले सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्ने वातावरण कसरी बन्छ? त्यतातिर बहस गरौंन’ श्रेष्ठले भने, ‘यो परियोजनाबाट ब्याक हुने होइन, थप परिष्कृत गरेर अघि बढ्ने हो।’
नेपालमा निजी सवारी साधनलाई बढी महत्व दिँदा सार्वजनिकले स्थान नपाएको, ट्राफिक व्यवस्थापनमा चुनौती बढेको तथा सडक जाम बढाएको र सडकको लेन बढाउनु पर्ने बाध्यता भएको प्राविधिकहरु बताउँछन्। जसको विकल्पमा द्रुत बसलाई ल्याइएको भौतिक मन्त्रालयले जनाएको छ।
यद्यपि दुवै सहसचिवहरु पूर्वतयारी पर्याप्त नभएको स्वीकार्छन्। द्रुत बस भनेर चलाइएका बस पनि विशेष सुविधायुक्त हुनुपर्ने उनीहरुको भनाइ छ। सूर्यविनायक–रत्नपार्क ४५ मिनेटमा यात्रा गर्न सकिने विश्वास सर्वसाधारणमा दिलाउन सकेमा द्रुत बस सेवामा आकर्षण बढ्ने उनीहरुको तर्क छ।
द्रुत बसमा एसीको व्यवस्था, अपाङ्गमैत्री, स्टेशन व्यवस्थित, ट्राफिक व्यवस्थापन राम्रो हुनुपर्छ। द्रुत बस चलाउन सडक बनाउँदा नै छुट्टै लेनको अवधारणा विकास गर्नुपर्नेमा नेपालमा त्यस्तो नहुँदा समस्या आउने प्राविधिकहरु बताउँछन्।
‘नयाँ प्रविधि र सिस्टम प्रयोग गर्नुपर्छ तर हाम्रो गल्ति कहाँ हुन्छ भने दुरदृष्टिले कुनै आयोजना बनाउँदैनौं, बीचमा पुगेर नयाँ आइडिया लागु गर्न खोज्छौं’ सहसचिव थापा भन्छन्, ‘सडक बनाउने बेलै द्रुत बस चलाउनुपर्छ भनेर सोचेको भए केही हुँदैन थियो। अहिले बीचमा योजना बनाउँदा व्यवस्थापनमा चुनौती छ।’
यसरी योजना बनाउँदा प्रभावकारी नभए पनि नेपालको विकास निर्माण एकपछि अर्को समस्याको जालोमा फस्दै गएको उनको भनाइ छ।
सवारीसाधनको अत्यधिक चाप हुने समय बिहान ९ देखि ११ बजे र बेलुका ४ देखि ६ बजे (दिनमा ४ घन्टा) सम्म द्रुत बस चलाइएको छ। मन्त्रालयका अनुसार ४० सिट क्षमताका २५ वटा बस सञ्चालन भइरहेका छन्।
सरकारले काठमाडौंमा द्रुत बस सञ्चालन अध्ययन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
समितिमा सडक विभागका प्रवक्ता पोखरेल, भौतिक मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिका, विशेषज्ञ इन्जिनियर र यातायात व्यवसायीका प्रतिनिधि थिए। समितिले बुझाएको प्रतिवेदनअनुसार द्रुत बस सेवा सञ्चालन भएको हो।