काठमाडौं। साढे ३ अर्ब रुपैयाँ निजी लगानीमा लुम्बिनी सेरामिक्स लिमिटेड सञ्चालनमा आउने भएको छ। लुम्बिनी सेरामिक्सले वार्षिक ४ करोड १० लाख वर्गमिटर ‘ग्लेज्ड भिट्रिफाइड फ्लोरिङ’ र वाल टाइल्स उत्पादन गर्ने छ।
बर्दिया गुलरियामा अहिले उद्योगको पूर्वाधार निर्माण जारी छ। गत असारसम्म उद्योगको १४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। आगामी सन् २०२४ को अन्त्यसम्म लुम्बिनी सेरामिक्सलाई सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
लुम्बिनीले ३ अर्ब १८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापकको (स्वपुँजी) हुने गरी लगानी संरचना तयार पारिएको छ।
लुम्बिनी सेरामिक्स २०१९ मा स्थापना भएको थियो। प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लुम्बिनी २०२३ मा पब्लिक लिमिटेडमा परिणत भएको हो।
सुब्रत धिताल उद्योगका अध्यक्ष हुन्। लम्बिनीमा उनको ३१ प्रतिशत स्वामित्व छ। बाँकी मंगलम समूहको बहुमत स्वामित्व छ। १५.९ प्रतिशतका दरले श्यामसुन्दर खेतान, आशुतोष खेतान, शशी चुरिवाला र सिनी खेतानको स्वामित्व छ।
अहिले उद्योगको सिभिल निर्माणको काम जार छ। उद्योगमा मेसिनरी प्लान्ट आयातको तयारी भइरहेको छ। आयातका साथै उपकरण जडानको काम एकसाथ अघि बढाउने तयारी भइरहेको छ।
निर्धारित समयमै उद्योगको निर्माण सम्पन्न गर्नुपर्ने दबाब छ। यदि ढिलाइ हुन गए लागत बढ्न गई उद्योगको वित्तीय प्रोफाइलमा असर पर्ने देखिन्छ। मंगलम समूह सिपिभिसी पाइप र पानी ट्याङ्कीसहित निर्माण सामग्री उत्पादन साथै आयात, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङ र फिनिसिङ सामान बिक्री वितरणमा संलग्न छ।
अनुभवी लगानीकर्ताका कारण लुम्बिनी सेरामिक्सलाई अपरेसनल सिनर्जी प्राप्त हुने देखिन्छ। जसले केही हदसम्म यसको अफटेक जोखिमलाई कम गर्न सक्छ।
विशेष गरी सहरी क्षेत्रमा पर्खाल र फ्लोरिङ टाइलको माग बढेको छ। निर्माण गतिविधिमा भएको विस्तारले टाइलको दीर्घकालीन माग सम्भावना बढेको छ।
नेपालमा चलिरहेको सहरीकरणको प्रवृत्तिका कारण सेरामिक्स टायलको माग अधिक हुने देखिन्छ।