मङ्गलबारे। इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ। उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए। केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए।
केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने गरेको छ। गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री हुँदै आएको जानकारी दिए। उनका अनुसार निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ।
उद्योगका सञ्चालक दाहाल ओसोमा विश्वास गरेर गाउँमा नै ध्यान गर्ने अनि गराउने गर्नुहुन्छ। ध्यान गर्न आएका विदेशीले यहाँबाट उत्पादित वस्तु खरिद गरेर लैजान गरेका छन्। विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेकाले यहाँ उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको उनको भनाइ छ।
सुरुसुरुमा विदेशीले सामान्य रुपमा जडीबुटी लगे पनि पछिल्लो समय व्यवसायिक रुपमा नै निर्यात हुन थालेपछि आफूलाई पनि थप हौसला बढेको दाहाल बताउँछन्। उनका अनुसार उत्पादित मेन्थाको तेल भने स्थानीय बजारमा नै खतप भइरहेको छ। तितेपाती र धूपीको तेल फ्रान्समा जान थालेको छ।
दाहालका अनुसार धूपी दुई हजार पाँच, तितेपाती छ हजार, मेन्था सात हजार र धसिङ्गरे सात हजार प्रतिकिलो बिक्री हुने गरेको छ। धसिङ्गरेको उत्पादन पनि गाउँमा सुरु भइसकेको छ। दाहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन्।
यसवर्ष धसिङ्गरेका १४ हजार बिरुवा गाउँमा वितरण गरेको उनले बताए।
कस्तो जडीबुटी उत्पादन हुन्छ?
यहाँबाट विभिन्न वनस्पतिको तेल उत्पादन हुन्छ। उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्दा ठिक हुने उद्याग सञ्चालक दाहालको भनाइ थियो। तेल प्रयोगकर्ताले दुखाइ कम भएको बताएका छन्। हाडजोर्नी, ढाड दुख्ने तथा घुडा दुखाइका बिरामी आउने गरेका उहाँले बताउनुभयो। यस वर्षबाट मात्र उत्पादित सबै वस्तु बिक्री हुन थालेकाले अब नाफामा जान सकिने सञ्चालक दाहालले बताए। रासस