काठमाडौं। मुलुकको पर्यटन उद्योगमा काम गरिरेहेका महिलाले दिगो र जिम्मेवार पर्यटनबाट मात्र देश विकासमा सघाउ पुग्ने धारणा राखेका छन्।
पर्यटन उद्योगमा काम गरिरहेका महिलाहरूको छाता संगठन ‘टुरिज्म सिस्टरहुड एसोसिएसन’ (टिएसएन) को पाँचौं स्थापना दिवसमा आयोजित छलफलमा उनीहरूले दिगो र जिम्मेवार पर्यटन मुलुकको आवश्यकता भएको र यसबाटै मुलुकले विकासमा फड्को मार्ने धारणा राखेका हुन्।
छलफलमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनीलाहे थापाले पर्यटन उद्योगमा काम गरिरहेका महिलाको क्षमता अभिवृद्धि गर्न टिएसएनले उल्लेख्य योगदान गरिरहेको बताइन्। पर्यटन उद्योगमा महिला सहभागिता न्यून भएको भन्दै उनले महिलालाई पर्यटनमा जोडिन आग्रह गरिन्।
टिएसएनका अध्यक्ष अनुपा बुढाथोकीले सन् २०१८ मा नौ महिलाबाट सुरु भएको संस्थाले पर्यटन उद्योगमा काम गरिरहेका महिलालाई सशक्त बनाइ नेतृत्व विकासका लागि काम गर्दै आएको जानकारी दिइन्। टिएसएनमा हाल ५० भन्दा बढी महिला आबद्ध छन्।
त्यसैगरी टिएसएनका निवर्तमान अध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले पाँच वर्षअघि ख्यालख्यालमै स्थापना गरिएको टिएसएन अहिले पर्यटन उद्योगमा महिलाका लागि अब्बल संस्था भएको बताइन्। अहिले टिएसएनमा दोस्रो पुस्ताका महिला प्रवेशले थप उत्साह थपेको उनको भनाइ थियो।
त्यसैगरी बुद्ध एयरका कार्यकारी निर्देशक आस्था बस्नेत, मलेसियन एयरलाइन्सको नेपालका लागि प्रमुख वाणिज्य सञ्चालक तृप्ति क्षेत्री, होटल मेची क्राउनका उपमहानिर्देशक अलेशा कार्कीलगायतले महिला अगाडि बढ्न सशक्तिकरण आवश्यक रहेको धारणा राखेका थिए.
छलफलमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष सिएन पाण्डे, क्याथे प्यासिफिक एयरवेजका नेपाल प्रमुख जुनु मलेकुलगायत सहभागी थिए।