काठमाडौं। त्रिवेणी ग्रुपले गत वैशाखबाट नेपालमै 'रोयल इन्फिल्ड' मोटरसाइकल उत्पादन थालेको छ। ग्रुपको टिजी अटो ग्रुप प्रालिले नेपालमा रोयल इन्फिल्डको ‘एसेम्बल प्लान्ट’ सञ्चालनमा ल्याएको हो।
प्लान्ट राख्न ग्रुपले साढे २७ करोड रुपैयाँ लगानी गरेको छ। सञ्चालनमा आएयता कम्पनीले रोयल इन्फिल्ड मोटरसाइकल बेचेर १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले वार्षिक २० हजार युनिट बाइक एसेम्बल गर्ने भएको छ। भर्खरै रोयल इन्फिल्ड बाइक एसेम्बल थालेकाले नोक्सानमा रहेको कम्पनीकाे भनाइ छ।
कम्पनीले ७० करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ। कम्पनीले साढे ३ सय सिसीका रोयल इन्फिल्ड बाइक उत्पादन तथा बिक्री वितरण गरिरहेको छ।
कम्पनीले नक डाउन कम्पोनेन्टहरूबाट पूर्णरूपमा एसेम्बल गरिएका मोटरसाइकल उत्पादन गरिरहेको छ। इकाइहरू आइसर मोटर्स इन्डियाबाट आपूर्ति गरेर प्लान्टमा एसेम्बल गरिन्छ।
त्रिवेणीले टिजी अटो स्थापना सन् २०२२ मेमा गरेको थियाे। प्लान्ट १ लाख वर्गफिट क्षेत्रफलमा फैलिएकाे छ। प्लान्टबाट वैशाखदेखि बाइक उत्पादन सुरु भएको हो।
अर्थतन्त्र सुस्त हुँदा उपभाेक्ताकाे क्रयशक्ति पनि घटेपछि बाइक खरिद गर्ने ग्राहक संख्या कम भएकाे बजारले देखाउँछ। याे वर्ष व्यापार साेचेजति नभए पनि आगामी आर्थिक वर्षबाट व्यापार बढ्दै जाने कम्पनीले जनाएकाे छ।
भारतीय कम्पनीले २ सय ५० सिसीदेखि ७ सय ५० सिसीसम्मका मिडिलवेट मोटरसाइकल ४० भन्दा बढी देशमा उपलब्ध गराइरहेको छ।
रोयल इन्फिल्डले नेपालका साथै बंगलादेशमा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ। रोयल इन्फिल्ड मोटरसाइकलको बजार हिस्सा बढ्दै गएपछि कम्पनीले नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट राखेको हो।
आर्थिक वर्ष २०२२ मा भने ८१ हजार ३२ थानमात्र निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो। यसले कुल बिक्रीमा ३९ प्रतिशतले वृद्धि गर्दै ८ लाख ३४ हजार ८ सय ९५ युनिट बनाएको थियो। २०२२ मा यसको बिक्री ६ लाख २ हजार २ सय ६८ थान थियो।