काठमाडौं। निजी लगानीमा स्थापना भएको अतिथि स्विट्स प्रालिले पोखरा लेकसाइडमा लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ।
कुल ७२ हजार ३ सय ३ वर्गफिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ५१ कोठा हुनेछन्। जसमध्ये बिएचके–१ मा १३, बिएचके–२ मा २६ र बिएचके–३ मा ११ कोठा हुनेछन्।
यसका साथै एउटा हेल्थ क्लबसहित दुइटा टावर बनिरहेका छन्। लक्जरी अपार्टमेन्टमा हेल्थ क्लब, रुफटप स्विमिङ पुल, रेस्टुरेन्ट, बेसमेन्ट पार्किङलगायत अत्याधुनिक सुविधासहि संरचना हुने अतिथिले जनाएको छ।
रियल इस्टेट अपार्टमेन्ट परियोजना बनाउन १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान छ। जसमध्ये ७८ करोड ७० लाख रुपैयाँ ऋण र संस्थापकबाट १९ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। अझै ४० करोड रुपैयाँ लगानी जुटाउन बाँकी छ।
यसका लागि काम भइरहेको अतिथिले जनाएको छ। अपार्टमेन्टमा ५७ प्रतिशत बैंक ऋण र बाँकी ४३ प्रतिशत संस्थापकबाट हुने गरी लगानी संरचना तयार पारिएको छ। अतिथिले १ अर्ब ऋणको रेटिङ गराएको छ।
गत असारसम्म अपार्टमेन्टको ४७ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। ९० प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ। अपार्टमेन्टमा इलेक्ट्रिकल, स्यानिटरी र फर्निसिङको काम जारी छ।
अपार्टमेन्ट आउँदो माघ (मध्यजनवरी) देखि आंशिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। २०८१ असारदेखि अपार्टमेन्ट पूर्णक्षमतामा सञ्चालनमा ल्याउने लक्ष्य छ।
अतिथि स्विट्स सर्भिस अपार्टमेन्ट कम्प्लेक्स बिजनेस मोडलमा सञ्चालन हुने अपेक्षा छ। होटलको मोडेलमा सञ्चालन गर्ने तयारी भएको अतिथिले जनाएको छ।
अतिथि रिसोर्ट एन्ड स्पा प्रालिद्वारा विकास गरिएको अपार्टमेन्ट बिक्री र लिज ब्याकमा दिने भएको छ। त्यस्ता सेवा अपार्टमेन्टहरूको माग मुख्यतया गैरआवासीय नेपालीबाट हुने गरेको छ।
गैरआवासीय नेपालीलाई लक्ष्य गरी अपार्टमेन्ट बनाइएको अतिथिले जनाएको छ। अतिथि स्विट्स सन् २०२० डिसेम्बरमा स्थापना भएको थियाे। अपार्टमेन्ट पर्यटकीय नगरी पोखराको केन्द्रमा अवस्थित छ।
विभिन्न सुविधासाथ पोखरा सहरको निकटताले मानिलाई थप फाइदा दिन्छ। जो छुट्टी मनाउन पोखरा जाने पर्यटकलाई अपार्टमेन्टमा लगानी गर्न सहज हुने भएको छ। निर्माणाधीन अपार्टमेन्ट पृथ्वी राजमार्गसँग जोडिएको छ।
अतिथिका प्रबन्ध निर्देशक भरतराज शर्मा हुन्। उनको होटल, घरजग्गा, कपडा, पेयपदार्थ, खाना र हर्बल उत्पादनसहित विभिन्न व्यवसायमा लामो अनुभव छ।
शर्मा सन् २०१२ देखि सञ्चालनमा रहेको ५० कोठा क्षमताको होटल अतिथि रिसोर्ट एन्ड स्पा प्रालिका प्रवर्द्धक तथा निर्देशक हुन्। शर्माको पोखरामकै टेम्पल ट्री रिसोर्ट र स्पामा पनि लगानी छ।