काठमाडौं। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयनको तयारीमा छन्। असोज ३० देखि कात्तिक ३ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चुनिन आकांक्षीहरू आ–आफ्ना समूह बनाएर विश्वदौडाहामा छन्।
प्रत्येक दुई/दुई वर्षमा आउने केन्द्रीय कार्यसमितिको निर्वाचनमा पछिल्ला वर्ष थप विवाद र राजनीतिक दलका भातृ संस्थाजस्तो गरी अघोषित पार्टी उम्मेदवार आउन थालेका छन्।
२०७८ चैतमा भएको १०औं महाधिवेशनमा भागबन्डा मिलाउन पूर्वअध्यक्ष कुमार पन्त समूहले ६/६ महिना कार्यकाल रहने गरी तीन अध्यक्ष (डा. बद्री केसी, कुल आचार्य र रविना थापा) बनाइएको थियो। अघिल्लो महाधिवेशन कात्तिक ६ देखि ८ तोकिएका बेला तीव्र विवाद भएपछि स्थगन गरेर चैतमा सारिएको थियो।
तीन अध्यक्ष बनाउँदा पनि विवाद समाधान भएन र पूर्वअध्यक्ष शेष घलेको समूहले विनोद कुँवरलाई अध्यक्ष घोषणा ग¥यो। पदका लागि नेपाली राजनीतिक दलहरूमा देखिएको आशक्ति एनआरएनमा पनि देखिएपछि एनआरएनएलाई हेर्ने दृष्टिकोण फेरिँदै गएको छ।
खासगरी संघ गठन गर्दा राजनीतिक छायाभन्दा बाहिर रहेर विशुद्ध सामाजिक काम गर्ने र नेपालमा लगानी ल्याएर मुलुक समृद्ध बनाउन योगदान पुर्याउने उद्देश्य राखिए पनि शेष घलेको दोस्रो कार्यकालबाट रोपिएको विवादको ज्वाला झन् पछि झन् दन्किँदै छ।
विवादित विगत
संस्थापक डा. उपेन्द्र महतोले सन् २००३ देखि २००९ सम्म एनआरएनएको अध्यक्षता गरेका थिए। त्यसपछि क्रमशः २००९–२०११ देवमान हिराचन, २०११–२०१३ जिवा लामिछाने, २०१३–२०१७ शेष घले अध्यक्ष भए। घले २०१५ मा दोस्रोपटक अध्यक्ष हुँदा निर्वाचन नै गर्नुप¥यो। घले र तेन्जी शेर्पाको प्रतिस्पर्धामा घलेले बाजी मारे।
तर, त्यसैबेलादेखि एनआरएनए निर्वाचनमा राजनीतिक दलहरूको प्रत्यक्ष हस्तक्षेप हुन थाल्यो। त्यतिबेला घलेलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन गरे भने शेर्पालाई नेकपा (एमाले) को समर्थन रह्यो। यसपालिबाट भने एनआरएनए निर्वाचनमा राजनीतिक दलहरूले उम्मेदवार घोषणा गर्न थालेकाले माहौल थप बिग्रिँदै गएको अभियन्ताहरू बताउँछन्।
२०१७–२०१९ का लागि घले पत्नी जमुना गुरुङ र भवन भट्टबीच प्रतिस्पर्धा हुँदा भट्टले बाजी मारे। जमुनाले निर्वाचन हारेपछि घले संघबाट बाहिरिए। यस निर्णयबाट संस्थापकसमेत रहेका पूर्वअध्यक्ष लामिछाने र घलेबीच ठूलो टकराव आयो। लामिछानेले सुरुदेखि शेष घलेलाई अध्यक्षका रूपमा अघि बढाए पनि दोस्रो कार्यकाल अनुकूल नचलाएको भन्दै विवाद बढेको थियो।
त्यसपछि घले र लामीछानेमा बढेको दुरीले संघभित्र सधैं गुटगत राजनीतिले प्रश्रय पाएको आरोप लाग्ने गरेको छ। त्यसको परिणाम जमुना र भवनबीचको निर्वाचनमा लामिछाने भट्टका पक्षमा खुले। जानकारहरूका अनुसार भट्टले निर्वाचन जितेसँगै फेरि लामिछानेसँगको सम्बन्ध बिग्रियो।
२०१९–२०२१ मा कुमार पन्तसँग कुल आचार्य प्रतिस्पर्धामा उत्रिए, तर पन्तले बाजी मारे। पन्तलाई जिताउन पनि लामिछानेको महत्वपूर्ण भूमिका देखियो। पन्तको कार्यकालपछि भने संघभित्रको विवाद थप बल्झियो र मिलाउन भन्दै तीन अध्यक्ष घोषणा गरियो।
चुनाव विपक्षमा रहेका संस्थापक अध्यक्ष महतो र धुमिल छवि सुधार्ने मौका
निर्वाचन विपक्षमा महतो
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पदाधिकारी र सदस्यहरूमा निर्वाचन भए पनि अध्यक्षमा चुनाव हुन नहुने पक्षमा छन्। अध्यक्ष निर्वाचन हुँदा सिधै दुई पक्ष देखिने भएकाले अपेक्षाअनुसार काम नहुने भएकाले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अडान लिँदै आएका छन्।
शेष घलेको दोस्रो कार्यकालमा शेर्पा, रामेश्वर साह र घलेबीच निर्वाचन हुन लाग्दा महतो कार्यक्रमस्थलबाटै बाहिरिएर साहको उम्मेदवारी फिर्ता लिन लगाए भने घलेले महतोको आग्रह अस्विकार गरे। जसका कारण घले र शेर्पाबीच निर्वाचन भयो। निर्वाचन हुँदा स्वार्थ बाझिने र गैरआवासीय नेपालीहरूको हकहितमा काम गर्न नसकिने निष्कर्ष महतोको छ। गत महाधिवेशनमा पनि नेतृत्वमा सहमति नजुटेपछि महतो बाहिरिएका थिए।
धेरैले ११औं महाधिवेशनलाई गुमेको छवि सुधार्ने मौकाको रूपमा अथ्र्याएका छन्। विगतमा भएका कमिकमजोरी सुधार गर्दै संघले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने संस्थापक अध्यक्ष महतो बताउँछन्।
‘योपटकको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छानेर धुमिलिएको छवि सुधारी विश्वभरिका नेपालीलाई सकारात्मक सन्देश दिनुपर्छ,’ महतो भन्छन्, ‘एनआरएन अभियानले अभूतपूर्व सफलता हासिल गरेको छ। पाएको सफलतालाई कार्यरूपमा लगेर एनआरएनएको महत्व अझ बढी दर्शाउनु छ।’
संघका पूर्वउपाध्यक्ष रामेश्वर साह पनि विगतका तिता विषय भुलेर एनआरएनए स्थापनाको भावना आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउँछन्।
‘एनआरएनए एक जुट भएर मुलुकका लागि आवश्यक वैदेशिक लगानी सामूहिकरूपमा नेपाल ल्याएर समृद्धिको यात्रामा सरिक हुनुपर्छ,’ साह भन्छन्, ‘विगतका निर्वाचनबाट विश्वभरि छरिएको नकारात्मक सन्देश ११औं महाधिवेशनले चिर्नुपर्छ र एनआरएन एकजुट भएको सन्देश दिनुपर्छ।