मनाङ। मनाङ बेभरेज प्रालिले मनाङको नेस्याङ गाउँपालिकामा वाइन कारखाना सञ्चालनमा ल्याएको छ।
कम्पनीले मनाङमा उत्पादन हुने स्याउलाई बजार अभाव हुन नदिने उद्देश्यसाथ वाइन कारखाना सञ्चालनमा ल्याएको हो। यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउको मुख्य बजार मनाङ आफैं हुने देखिएको छ।
मनाङ बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक २ लाख लिटर वाइन उत्पादन गर्न सक्छ। यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ।
कम्पनीले बुधबार मनाङको ३ हजार ५ सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम आयोजना गर्दै ‘मनाङ भ्याली’ वाइन सार्वजनिक गरेको हो। यो वाइन स्विट र सेमी स्विट गरी दुई भर्सनमा उपलब्ध छ।
यी दुवै भर्सनका वाइनको मूल्य १ हजार २५ रुपैयाँ तोकिएको छ। ‘हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौं। यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौं,’ मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भने, ‘यसले मनाङमा स्याउ उत्पादनलाई थप बढावा दिने छ भने बजार अभाव समस्या पनि अन्त्य गर्ने छ।’
उनका अनुसार हाल मनाङमा करिब ८ सयदेखि १ हजार टन स्याउ उत्पादन हुने गरेको छ। जुन कारखानाका लागि पर्याप्त हुनेछ। प्रबन्ध निर्देशक रञ्जितकारका अनुसार अबको ५ वा ६ वर्षसम्म यो उत्पादन पर्याप्त हुने भए पनि त्यसपछि भने मुस्ताङ, हुम्लालगायतमा पनि क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आउन सक्छ।
कम्पनीले वाइन कारखानाका लागिमात्रै करिब १० करोड लगानी गरेको छ। हाल कारखानामा प्रत्यक्ष करिब ३५ देखि ४० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको संख्या करिब ५ सयहाराहारी छ।
रञ्जितकारका अनुसार पूर्वाधार र बाटोको असहज अवस्थाका कारण कारखानाका लागि आवश्यक सामग्री पु¥याउन निकै कठिन भएको थियो। अब वाइन उत्पादन गरेर बजार पु¥याउने चुनौती पनि रहेको उनले स्पष्ट पारे।
२ करोड ४० लाख लगानीमा आफ्नै ‘मिनिहाइड्रोपावर’
मनाङमा बाटोको अवस्था आज पनि निकै कठिन छ। विद्युत पनि ठुल्ठूला कारखाना र उद्योग सञ्चालन गर्न सक्ने क्षमताका छैनन्। जसले गर्दा कारखाना सञ्चालनमा ल्याउन कठिन भएको रञ्जितकार बताउँछन्।
विद्युत क्षमताले कारखाना सञ्चालन गर्न नसक्ने भएपछि मनाङ बेभरेजले आफ्नै लगानीमा एउटा मिनिहाइड्रोपावर सञ्चालनमा ल्याएको छ। २ करोड ४० लाख रुपैयाँ लगानी रहेको यो विद्युत आयोजना १ सय किलोवाट क्षमताको छ।
‘सुविधा र अन्य पूर्वाधारका हिसाबमा यो कारखाना हामीले अन्य ठाउँमा पनि सञ्चालन गर्न सक्थ्यौं। तर, मनाङको स्याउलाई यहीँको हावापानी र वातावरणमा वाइन बनाउनु नै हामीलाई उचित लाग्यो,’ प्रबन्ध निर्देशक रञ्जितकारले भने, ‘हामीले यो कारखानाबाट उत्पादन गरेका प्रडक्ट अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न योग्य छ।’
उनले मनाङमा ऊर्जालगायत अन्य पूर्वाधार अवस्था अझै सहज नरहेको बताउँदै यस्तो कठिनाइबीच केही गर्न सकिन्छ भन्ने सन्देश आफूहरूले दिएको बताए।
स्याउको व्यावसायिक खेती बढ्दै
मनाङको स्याउ खेतीको विषयले त्यतिबेला चर्चा पायो, जतिबेला एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी जग्गामा एकैपटक स्याउ खेती गर्यो। मनाङ एग्रोले करिब ६ वर्षअघि इटाली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर खेती गर्न सुरु गरेको थियो। हाल यो स्याउखेती पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ।
यो स्याउ फार्ममा गाला, फुजी र गोल्डेन डिलिसेस गरी तीन जातका करिब ६० हजार बिरुवा लगाइएको छ। करिब २० अर्ब लगानीमा खेती गरिएको यो फार्मबाट उत्पादित स्याउलाई एग्रो मनाङले हिमालयन फ्रेस ब्रान्ड नाममा बजार पुर्याउने गरेको छ। यो फार्मममा हाल २८ जनाले रोजगारी पाएका छन् भने सिजनमा ३५ देखि ४० भन्दा बढीले काम गर्ने गरेका छन्।
एग्रो मनाङ प्रालिका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार गत वर्ष यो फार्मबाट ४ सय ५० टन स्याउ उत्पादन भएको थियो भने यो वर्ष ५ सय ५० टन उत्पादन हुने अपेक्षा छ।
वाइन कारखानाका लागि यो फार्मले हाल ५० रुपैयाँ किलोमा स्याउ उपलब्ध गराउँदै आएको छ। नेपाली स्याउले यहाँको बजारको करिब १० प्रतिशतमात्रै माग धान्न सक्ने कारण आफूले स्याउ खेती अगाडि बढाएको गुरुङ बताउँछन्।
‘एग्रो मनाङको फार्महाउस दक्षिण एसियाकै सबैन्दा ठूलो हो। यसका साथै मनाङको पिसाङमा पनि तीन सय ८० रोपनीमा गत वर्षबाट स्याउ खेती सुरु भएको छ,’ गुरुङले भने, ‘यसरी बजार सुनिश्चितता बढ्दै जाँदा स्याउको व्यावसायिक खेती गर्नेको संख्या पनि बढ्दै गएको छ।’
उनले हाल एग्रो मनाङ फार्ममा प्रतिहेक्टर ४० टन स्याउ उत्पादन गरेको जानकारी दिए।
यो फार्ममा हाल करिब ६० हजार स्याउका बोट छन्। मनाङ एग्रोको स्याउ फार्मसँगै मनाङ बेभरेजको वाइन कारखाना छ। त्यहीँसँगै मनाङ एग्रोको कोल्ड स्टोर पनि छ।
जसमा स्याउलाई ग्रेडिङ गरी भण्डारण गर्ने, बिक्री गर्ने र अन्य ठाउँमा पठाउने कामका साथै कारखानालाई पनि त्यहीँबाट छुट्ट्ट्याउने काम हुन्छ।
मनाङ बेभरेजले जिल्लामा उत्पादित सबैको स्याउलाई वाइन बनाउन कारखानामा लिने जनाएको छ।