एजेन्सी। सन् २००३ देखि अहिलेसम्म विश्वव्यापी सेयर बजार आकार लगभग तीन गुणा बढेको छ। विश्वको बजार पुँजीकरण कुल १ हजार ९० खर्ब (१०९ ट्रिलियन) अमेरिकी डलरबराबर पुगेको छ।
पछिल्ला दशकमा मुद्रा आपूर्तिमा भएको वृद्धि र कम ब्याजदरले अर्थतन्त्रहरूमा बढ्दो सम्पत्ति मूल्यलाई बलियो बनाउँदा सकारात्मक असर विश्व सेयर बजारमा देखिएको हो।
विश्व फेडरेसन अफ एक्सचेन्ज (डब्लुएफई) र सेक्युरिटिज इन्डस्ट्री एन्ड फाइनान्सियल मार्केट्स एसोसिएसन (सिफ्मा) को तथ्यांक आधार मान्दा २०२३ मा अमेरिका विश्वको सबैभन्दा ठूलो सेयर बजार भएको देश बनेको छ।
अमेरिकाको अर्थतन्त्र विश्वकै सबैभन्दा ठूलो छ। अमेरिकाको अर्थतन्त्रको आकार २ सय ६५ खर्ब डलरबराबर छ। अमेरिकाको विश्वव्यापी सेयर बजारमा कुल पुँजीकरणमा ४२.५ प्रतिशत हिस्सा रहेको डब्लुएफईले जनाएको छ।
अमेरिकाको सेयर बजारको कुल पुँजीकरण ४ सय ६२ खर्ब डलर छ। अमेरिकाले युरोपेली युनियन (इयु) लाई धेरै मार्जिनले पछाडि पारेको छ। इयुको विश्व सेयर बजारमा पुँजीकरणमा ११.१ प्रतिशतमात्र हिस्सा छ। इयुको सेयर बजार पुँजीकरण १ सय २१ खर्ब डलरमात्र छ।
विश्वको ठूलो अर्थतन्त्र चीनको सेयर बजार पुँजीकरणका आधारमा तेस्रो स्थानमा छ। चीनको हिस्सा १०.६ प्रतिशतमात्र छ। चीनको सेयर बजार पुँजीकरण १ सय १५ खर्ब डलर पुगेको छ।
यस्तै चौथोमा जापान छ। जापानको सेयर बजार पुँजीकरण ५८ खर्ब डलरको छ। पाँचौमा हङकङ छ। हङकङको सेयर बजार पुँजीकरण ४३ खर्ब डलर छ।
यस्तै छैटौंमा बेलायत छ। बेलायतको सेयर बजार पुँजीकरण ३२ खर्ब, सातौं क्यानडाको ३० खर्ब, आठौं अस्ट्रेलियाको १७ खर्ब र नवौं स्थानमा सिंगापुर छ। सिंगापुरको सेयर बजार पुँजीकरण ६ खर्ब डलरको छ।
छिमेकी देशको सेयर बजार पुँजीकरण खर्बौं डलरको हुँदा नेपालको अर्बको छ। नेपालको सेयर बजार पुँजीकरण २२ अर्ब ८४ करोड डलर (३० खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँ) को छ। १ डलर बराबर १ सय ३३ रुपैयाँलाई आधार मान्दा पौने २३ अर्ब डलर भएको हो।
एक्सचेन्जका अनुसार बाँकी विकसित बजारको हिस्सा १ सय २ खर्ब डलर र बाँकी उदीयमान बजारको हिस्सा १ सय खर्ब डलर छ।
अन्य धनी राष्ट्रहरूको तुलनामा अमेरिकी स्टकहरूले विगत धेरै दशकमा राम्रो प्रदर्शन गरेका छन्। यदि एक लगानीकर्ताले १९९० मा एसएन्डपी ५०० मा १ सय डलर राखेको थियो भने यो लगानी २०२३ मा लगभग २ हजार डलर भएको छ।
२० वर्षमा चीनको अर्थतन्त्र झन्डै १२ गुणाले बढेर यो वर्ष १ सय ९४ खर्ब डलर पुगेको छ। उदीयमान सूचक (इमर्जिङ इन्डेक्स) मा चिनियाँ घरेलु स्टकहरू समावेश गर्दा र यसअघि २००२ मा यसको इक्विटी बजारको अन्तर्राष्ट्रियकरणसँगै चीनको इक्विटी बजार पनि निकै बढेको छ। जापानको इक्विटी बजारले ग्लोबल सेयरको ५.४ प्रतिशत ओगटेको छ।
भविष्यको लगानी परिदृश्य
गोल्डम्यान साक्सले सन् २०३० सम्म अमेरिकी इक्विटी बजार पुँजीकरण समग्र विश्वबजारको ३५ प्रतिशतमा झर्ने अनुमान गरेको छ। अहिले साढे ४२ प्रतिशत छ।
यसैबीच चीन र भारतलगायत उदीयमान बजारहरू सामूहिकरूपमा बढेर ३५ प्रतिशत पुग्ने प्रक्षेपण गोल्डम्यानको छ। २०५० सम्म उदीयमान सेयर बजारले विश्व स्टक बजारको ४७ प्रतिशत बढेर अमेरिकालाई पछि पार्ने अनुमान गरिएको छ।
यो परिवर्तनलाई सहयोग गर्ने पहिलो कारक उदीयमान अर्थतन्त्रहरूका लागि तीव्र आर्थिक वृद्धि हो। ऐतिहासिकरूपमा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) बढ्दै जाँदा अर्थतन्त्रमा पुँजीबजारहरू अझ परिष्कृत हुन्छन्। हामी यो धनी देशहरूमा देख्न सक्छौं जहाँ उनीहरूको बजारको उच्च इक्विटाइजेसन हुन्छ।
लगानीकर्ता प्रभाव
हालैको दशकमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गरेको छ। गोल्डम्यान साक्सका अनुसार यो जारी रहने छ। बढ्दो जनसंख्या संरचना र जिडिपी वृद्धिबाट रचनात्मक परिवर्तनमा लगानीकर्ताको ध्यान आफ्नो स्थानको रूप हेरेर पोर्टफोलियोलाई विविधीकरण गर्न सकिन्छ।
भारत विश्वमा सबैभन्दा छिटो अघि बढ्ने अनुमान गरिएको छ। अहिले भारतको अर्थतन्त्र आकारका हिसाबले विश्वको पाँचौ ठूलो छ। भारतको अर्थतन्त्रको आकार बढेर साढे ३७ खर्ब डलर पुगेको छ।
२०३० सम्म भारत ग्लोबल इक्विटी मार्केट क्यापको ४.१ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ। यसबाहेक २०५० सम्म प्रतिव्यक्ति आम्दानी वृद्धि र जनसांख्यिकीय चालकहरूका कारण भारतले युरो क्षेत्रलाई पछाडि पार्ने अनुमान गरिएको छ।
दोस्रो कारण, थोरै हदसम्म उदीयमान बजार बढ्दो मूल्यांकन गुणन प्रतिव्यक्ति उच्च जिडिपीद्वारा सञ्चालित हो। अमेरिकामा देखिए झैं धनी देशले प्रायः उच्च कमाइको गुणनमा व्यापार गर्छन्। किनभने, उनीहरूलाई कम जोखिम भएको मानिन्छ।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)