काठमाडौं। केही महिना बन्द भएर नयाँ कम्पनीमार्फत पुनः सञ्चालनमा आएको नेपालको पहिलो राइड सेयरिङ एप टुटल सञ्चालनमा रोक लागेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो। अदालतको आदेशसंगै टुटल एप बन्द हुने भएको छ।
मण्डला डिजिटल होल्डिङस प्रालिको तर्फबाट सिवाङक थापाले शिक्षित भट्टलाई विपक्षी बनाई रिट दायर गरेका थिए। निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए।
बहस पछि अदालतले उजुरी निवेदनमा माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सोसमेत खुलाई सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक ७ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
मण्डला डिजिटल होल्डिङसले निवेदनमा अन्तरिम आदेशको मागसमेत गरेको थियो।
विषयवस्तुको गाम्भिर्यतालाई हेर्दा दुवै पक्षहरुको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निष्कर्षमा पुग्न ठिक हुने अदालतलेको ठम्याई छ।
यस छलफलका लागि अदालतले २०८० असोज १६ गतेलाई पेशी तोकेको छ। अदालतले यस अवधिसम्म गुगल प्ले स्टोर र एप्पल एप स्टोर मा टुटल एप प्रयोग नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।
अदालतमा यसरी पुग्यो विवाद
टुटल सुरुदेखिनै नाफा कमाएको कम्पनी भने होइन्। जब टुटल बजारमा छाउन थाल्यो त्यसको प्रतिस्पर्धामा पठाओ आइपुग्यो। टुटलको भन्दा पठाओको एप प्रविधिक रुपमा राम्रो भएकाले प्रयोगकर्ता पठाओमा झुम्मिए।
यो अवधिमा शिक्षितले विभिन्न लगानीकर्तासगँ सहकार्य गर्दै आइरहेका थिए। पछि २०२१ को अन्तिममा भट्ट मण्डला डिजिटल होल्डिङस प्रालिमा लगानी प्रस्ताव गर्न पुगे।
टुटलको सम्पत्ति मूल्यांकन गरेर मण्डलाले १० प्रतिशत सेयर लिने सहमति भयो। यसको बदलामा मण्डलाले टुटल नेपाललाई १ करोड २० लाख रुपैयाँ दिने सहमति भएको थियो।
यो रकम कम्पनीले एकैपटक नदिई पहिले आधा दिने र टुटलले निश्चित लक्ष्य पुरा गरेपछि बाँकी पैसा दिने सहमती भएको थियो।
मण्डलाले लगानी गरेपछि टुटलको न एप राम्रो भयो नत प्रयोगकर्ताको रोजाइमा नै पर्यो।
हुँदा–हुँदा टुटलमा काम गर्ने कर्मचारीको तलब नै ३ महिना रोकिएपछि मण्डलाले यसमा चासो देखायो। शिक्षितले पछि यी सबै समस्या समाधान गरे।
कम्पनी चलाउन नसक्ने भए अहिलेका लागि यसलाई होल्ड गरेर राख्ने मण्डलाको तर्क थियो। थप लगानी गर्नुको अर्थ नभएपछि एप होल्ड गर्नु नै उचित हुनेमा सबै लगानीकर्ता सहमत भए।
अन्तत केही महिना अघि टुटल बन्द हुन पुग्यो। यहीबीच टुटलको पुनरागमनको हल्ला चल्यो। नभन्दै केही हप्ता अघि टुटल सञ्चालनमा पनि आयो। यसबारे शिक्षितलाई सोध्दा सधै आलटाल गरेको मण्डलाको दावी छ।
‘कहिले बेचेको छैन भन्ने, कहिले सञ्चालको पासवर्ड कसरी गयो भन्ने थाहा छैन भन्ने लगायतको उत्तर आउन थाल्यो। त्यसपछि गत हप्ता हामीले रिट दायर गरेका हौं’ मण्डलाका एक प्रतिनिधिले क्यापिटल नेपालसँग भने।
मण्डला डिजिटल होल्डिङसले पत्र पठाएरै यो विषय प्रष्ट पार्न भने पनि भट्टले जवाफ नदिएको कम्पनीको दाबी छ।