काठमाडौं।पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ।
२८ मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ। वातावरणीय प्रभाव मूल्याङ्कनबाट प्राप्त विवरण सार्वजनिक गर्दैै वन तथा वातावरण मन्त्रालय र सम्बन्धित आयोजनाले त्यसमा सुझाव दिन आज एक सूचनामार्फत आग्रह गरेको छ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दूधकोशी गाउँपालिका–७ मा अवस्थित रहेको सो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको छ। यस जलविद्युत् आयोजनाको ग्रस हेड चार सय २३ मिटर छ। सो आयोजनाको वार्षिक ऊर्जा उत्पादन १६ करोड ४० लाख युनिट हुनेछ।
प्रस्तावित आयोजनाको हेडवक्र्स, इन्टेक एप्रोच क्यानल, डिसेन्डर इन्खु खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बाँकी हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस, स्वीचयार्ड, टर्बाइन इन्खु खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ।
आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय तिङ्ला सवस्टेशनमा जोडिनेछ। आयोजनाको कूल लागत ५ अर्ब ४७ करोड ९८ लाख २३ हजार रुपैयाँ हुने अनुमान गरिएको छ।
आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि १७ दशमलव ४१ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यसमा १ दशमलव ४१ हेक्टर स्थायीरूपमा र छ हेक्टर अस्थायीरूपमा प्रयोग गरिनेछ। रासस