काठमाडौं। नेपालको बिमा व्यवसाय प्रविधिमैत्री हुन नसकेको कुरा लामो समयदेखि उठिरहेको छ। बिमा कम्पनीहरू प्रविधिमैत्री हुन नसकेको भन्दै नेपाल बिमा प्राधिकरण आफैंले पनि कार्यविधि तयार पारेर यस क्षेत्रलाई 'डिजिटलाइजेसन' तर्फ अघि बढाउने प्रयत्न गरिरहेको छ।
यद्यपि, बिमा कम्पनीले पनि आफ्नो सेवा प्रविधिमैत्री बनाउने प्रयास नै नगरेका भने होइनन्। विभिन्न समयमा बिमकहरूका तर्फबाट यसका लागि कुनै न कुनै किसिमको प्रयास हुँदै आएको छ।
करिब दुई साताअघि मात्रै मेट लाइफ इन्स्योरेन्स कम्पनीले ओएनई (वान) नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको थियो। मेट लाइफले सार्वजनिक गरेको एपले आफ्ना अभिकर्ता तथा बिमितलाई सजिलै जोड्न सक्ने जनाएको छ। कम्पनीले १० महिनाको अध्ययन तथा परीक्षणपछि एप सञ्चालनमा ल्याएको बताउँदै ढुक्क भएर सुविधा लिन ग्राहकहरुलाई आग्रह गरेको छ।
याे एपबाट ग्राहकले आफ्ना बिमा पोलिसीका सूचना प्राप्त गर्न, बिमा सुविधा तथा सेवाबारे खोजी गर्न, बिमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टलाई सम्पर्क गर्न सक्छन्। साथै, यसमा ३ सय ६० हेल्थ सुविधाबाट प्रयोगकर्ताले आफ्नो हृदयको गति, रक्तचाप तथा स्वास्थ्य विवरणको निगरानी एआईद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्नेसमेत विशेषता छ।
मेटलाइफ नेपालको ग्राहक सेवा एप दुवै आइओएस एप स्टोर र एन्ड्रोइड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोडका लागि उपलब्ध हुन्छ।
एकपटक ग्राहकले सुरक्षितरूपमा एप लगइन गरेपछि उनीहरूले आफ्नो बिमा पोलिसीको स्थिति, कुल प्रिमियम भुक्तानी गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ताका साथै उनीहरूको पोलिसीको विस्तृत प्रिमियम भुक्तानी विवरणजस्ता जानकारी यसमा हेर्न सक्छन्। यसका अलावा पनि नेपालमा योभन्दा अगाडि विभिन्न अनलाइन प्लेटफर्म पनि सञ्चालनमा आएका थिए।
ई–बिमा
आठ वर्षअघि सन् २०१५ मा बिमा क्षेत्र डिजिटल बनाउने लक्ष्यसाथ ई–बिमा अनलाइन प्लेटफर्म स्थापना भएको थियो। यसले जीवन र निर्जीवन बिमाका उत्पादन उपलब्ध गराउने उद्देश्य राखेको थियो। यसमा पनि ग्राहकले बिमकहरूबाट अनलाइनमार्फत आफूलाई मनपर्ने बिमा तुलना र खरिद गर्न सक्ने विशेषता छ। बिजनेस डेभलपरले सञ्चालनमा ल्याएको यस प्लेटफर्मले २०२० मा नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) बाट लाइसेन्स प्राप्त गरेको थियो।
ई–बिमामा अहिलेसम्म करिब दुई दर्जन जीवन बिमक र आधा दर्जन निर्जीवन बिमक आबद्ध भएर पोलिसी बेचिरहेका छन्। यसमा पनि बिमा गर्न र बिमाको रकम भुक्तानी गर्न बिमा कम्पनी धाउनुनपर्ने विशेषता प्रदान गरिएको छ।
यद्यपि, २०१५ देखि २०२३ सम्मको आठ वर्षे यात्रामा यो अनलाइन प्लेटफर्मले पनि नेपालमा सोचेअनुरूप बिमक र बिमितलाई आकर्षित गर्न सकेको देखिँदैन। तर, यस प्लेटफर्मलाई नेपालको बिमा क्षेत्र डिजिटाइजेसनतर्फ लग्ने महत्वपूर्ण कदमका रूपमा लिइन्छ। यसपछि नेपालमा थप अन्य अनलाइन प्लेटफर्म आएको देखिन्छ।
मेरो बिमा
दुई वर्षअघि सारथी एजेन्सी प्रालिले ‘मेरो बिमा’ नामक अनलाइन एप सञ्चालनमा ल्याएको थियो। यस एपमा पनि नेपालभरिका बिमा अभिकर्ताले बिमितको रिमाइन्डर सिस्टम, मिटिङ रिमाइन्डर सिस्टम राखिएको छ। यस अनलाइन प्लेटफर्ममा पनि करिब दुई दर्जनहाराहारी जीवन बिमक र तीन निर्जीवन बिमक आबद्ध छन्।
विभिन्न बिमा कम्पनीहरूको बिमा नीतिबारे जानकारी पनि यसमा उपलब्ध छ। मेरो बिमाले २०२१ मा आफ्नो मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मका लागि उपलब्ध गराएको थियो।
ग्राहकले मेरो बिमा एपमार्फत् बिमा खोज्न, तुलना गर्न र खरिद गर्नमात्र नभई बिमा प्रिमियम क्याल्कुलेटर, बिमा पोलिसी नवीकरण, दाबी सहायता, बिमा समाचार, डिजिटल डायरीजस्ता रोचक सुविधाको फाइदा लिन सक्ने विशेषता छन्।
बिमा क्षेत्रको परिवर्तनशील प्रविधि अनुकूलन गर्ने र डिजिटल बिमाको ब्रान्ड बनेर बिमालाई डिजिटलाइज गर्ने कम्पनीको मुख्य उद्देश्य छ। यसले व्यक्तिगत बिमा एजेन्टलाई निष्पक्ष र झन्झटरहित सुविधा प्रदान गर्ने पनि जनाइएको छ।
यसले पनि बिमा क्षेत्रमा खासै राम्रो उपस्थिति देखाउन सकेको छैन। यी अनलाइन प्लेटफर्मबाहेक बिमक आफैंले पनि वेबसाइटमार्फत कारोबार गर्ने प्रयास पनि गरेको देखिन्छ।
अर्थात, बिमकहरू आफैंले अनलाइबाटै पोलिसी खरिद गर्न सक्ने प्लेटफर्म पनि तयार गर्दै आएका छन्। यद्यपि, यसमा पनि बिमितहरूको आकर्षण बढ्न सकेको देखिँदैन। यसले पनि नेपालमा गुणस्तरीय, सरल र सहज किसिमको अनलाइन प्लेटफर्म आवश्यक देखाउँछ।
जीवन बिमक संघ अध्यक्ष तथा सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल अनलाइन प्लेटफर्म सार्वजनिक गर्नु ठूलो कुरा नभई त्यसले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने विषय महत्वपूर्ण रहेकाे बताउँछन्।
‘विभिन्न समयमा यस्ता अनलाइन प्लेटफर्म तामझामसाथ सार्वजनिक गरिन्छन्। तर, केही समयपछि ती प्लेटफर्मको नाम नै नसुनिने अवस्थामा पुग्छ,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘यसर्थ, प्लेटफर्म आउनुमात्र नभई निरन्तरता पाउनु र बिमक तथा बिमितलाई आकर्षित गर्नु ठूलो कुरा हो।’ उनले नेपाली बजार सुहाउँदो, सहज र सरल अनलाइन प्लेटफर्मको विकास हुन नसकेको बताए।