काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर र प्राप्तिको नीति ल्याएपछि १७८ बैंक तथा वित्तीय संस्थाहरु यस प्रक्रियामा सामेल भएका छन । यस अवधिमा १३५ बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज भई ४३ संस्था मात्र कायम भएका छन ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको ठहर गर्दै २०७२ को मौद्रिक नीतिमा वाणिज्य बैंकको चुत्तापुँजी ४ गुणा बढाएर ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनी ८० करोड रुपैयाँसम्म न्युनतम पुँजी पुर्याएको थियो । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजान केन्द्रीय बैंकले पुँजी वृद्धि योजना अघि सारेको हो ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएको हो ।
नीति अघि नै कमर्ज एन्ड ट्रष्ट बैंकलाई ग्लोबल आईएमई बैंकले, बैंक अफ एसिया गाभेर एनआईसी एसिया बैंक भएको छ । यस्तै ग्राण्ड र किस्ट बैंकलाई गाभेर प्रभु बैंक भएको छ ।
यस्तै एनआईडीसी डेभलपमेन्ट बैंकलाई सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गरेको छ । बैंक अफ काठमाण्डुले लुम्बिनी बैंकलाई गाभेको छ ।
ग्लोबल आईएमई र जनता बैंकले शुक्रबार एकिकृत कारोबार गर्दै छन । केन्द्रीय बैंकले मर्जर नीति लिएपछि वाणिज्य बैंकको संख्यामा कमी आउन सकेन । ग्लोबल र जनता मर्जरपछि वाणिज्य बैंकको संख्या २७ कायम हुने छ ।
हाल वाणिज्य बैंकको संख्या २८, विकास बैंक २५, वित्त कम्पनी २२ र लघुवित्त संस्था ८९ ओटा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा बढी संस्था मर्जर र प्राप्ति गर्नेमा ग्लोबल आईएमई बैंक भएको छ । उसले झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेको छ ।
सिद्धार्थ, एनआईसी एसिया, मेगा, एनसीसी, सिभिल, राष्ट्रिय वाणिज्य, बैंक अफ काठमाण्डु, प्रभु, एनएमबी, माछापुच्छे, प्राइम कमर्शियल र सानिमा बैंकहरु मर्जर प्रक्रियामा सामेल भइसकेका छन ।
मेगाले गण्डकी विकास बैंकलाई मर्जर गर्दै छ । यस्तै प्राइम कमर्शियलले पनि कैलाश विकास बैंकलाई मर्जर गर्नका समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्दै छ ।
यस्तै साँग्रिला, कैलाश, देव, ज्योति, गरिमा, महालक्ष्मी, लुम्बिनी, गण्डकी, कामना सेवा विकास, साइन रेसुङ्गा, तिनाउ मिसन र सप्तकोसी डेभलपमेन्ट बैंक पनि मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भएका छन ।
मर्जर र प्राप्ति प्रक्रियामा केही विकास बैंक सहभागी भएकाले संख्या अझै घट्ने छ । पछिल्लो समयमा राष्ट्र बैंकले दवाव बढाएपछि वाणिज्य बैंकहरु धमाधम विकास बैंकलाई प्राप्ति गर्न थालेका छन ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर प्रक्रियामा सहभागी गराएसँगै कयौं वित्तीय संस्थाहरुले आफ्नो वास्तविक अस्तित्व गुमाएका छन् ।
मर्जर प्रक्रियाबाट अस्तित्व गुमाउने वाणिज्य बैंकहरुमा किष्ट बैंक, ग्राण्ड बैंक, कमर्ज एन्ड ट्रष्ट र लुम्बिनी बैंक छन । यस्तै ओम डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट, प्यासिफिक डेभलपमेन्टले पनि अस्तित्व गुमाएका छन । प्रभु फाइनान्स स्तरोन्नति भएर प्रभु विकास बैंक बन्यो ।
मर्जर प्रक्रियाको माध्यमबाट अस्तित्व गुमाउने वित्तीय संस्थाहरुमा काठमाडौं फाइनान्स, पिपल्स फाइनान्स,युनियन फाइनान्स, नेपाल आवास फाइनान्स, हाथवे फाइनान्स, नवदुर्गा फाइनान्स, बुटवल फाइनान्स, स्ट्याण्डर्ड फाइनान्स लगायतका वित्तीय संस्थाहरु रहेका छन् ।
मर्जरपछि सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था हेर्न यहाँ क्लिक गर्नुहोस ।
त्यसैगरी, लर्डबुद्ध फाइनान्स, सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कास्की फाइनान्स लगायतका गर १७८ ओटा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सहभागी भएका छन ।