काठमाडौं। स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ। दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ आयोजना गरेको हो।
सय थुम्काहरूको संगम सैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो। यस्तै सैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट हिल स्टेसन हो। प्रकृति र पर्यावरणको उत्तम संगम रहेको सैलुङ पर्यटकीय हिसावले निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ।
‘यसपटक सैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौ,यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौं,’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने। टोली बिहीबार साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ।
चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा वाइल्ड स्टे विथ चौरी राखिएको छ। कार्यक्रममा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री ,लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा.रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोलाको सहभागिता छ।
एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागीता छ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गरेको हो।