काठमाडौं। सम्पत्ति शुद्धीकरण, कर प्रशासन र प्रहरीका कारण व्यावसायिक वातावरण नराम्ररी प्रभावित भएको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ।
कर प्रशासनको ज्यादति, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी छानिछानी बोलाएर तर्साउने र प्रहरीले धरपकड गरेकाले व्यवसायीको मनोबल नराम्ररी प्रभावित भएको अर्थ मन्त्रालयको निष्कर्ष छ।
अर्थ सचिव कृष्णहरि पुष्करले भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र प्रहरीको ज्यादतीका कारण व्यावसायिक वातावरण खल्बलिएको भन्दै आफूमातहत निकायलाई बोलाएर छलफल गरेका हुन्।
‘अनुसन्धान गर्ने निकायले निष्पक्ष अनुसन्धान गर्नेभन्दा पनि मन परेकाले जस्तोसुकै गल्ती गरे पनि च्याप्ने र मन नपरेकालाई नियोजितरूपमै खेद्ने कार्य भइरहेको छ,’ उनले विभागीय प्रमुखहरूलाई बोलाएर भने, ‘राजस्व प्रशासनले कर छली रोक्न लाग्ने हो, अप्रत्यक्ष फाइदा बटुल्न तल्लिन हुने होइन।’
अहिले केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा समस्या देखापरिरहेको छ। कर्जा माग शून्यप्रायः हुँदा पनि ब्याजदर निरन्तर बढिरहँदा अर्थतन्त्र समस्यामा परिरहेको छ। यस्तो बेलामा सबै सरकारी निकायले व्यावसायिक वातावरण बनाउन प्रयत्न गर्नुपर्नेमा झन् बिगार्ने काम भइरहेको भन्दै त्यस्तो कार्य रोक्न भनेका हुन्।
औद्योगिक उत्पादन बढ्न सकेको छैन। नयाँ कर्जा प्रवाह हुनै सकेको छैन। सेयर बजार निरन्तर ओरालो यात्रामा छ। व्यवसायीहरू नयाँ लगानी गर्न तत्पर देखिँदैनन्। अर्थतन्त्रमा देखिएको समस्या बेलैमा समाधान गर्न सकिएन भने आगामी दिन झन अवस्था बिग्रिएर जाने पुष्करको भनाइ छ।
सम्पत्ति शुद्धीकरण विभागका अधिकारीले व्यवसायीलाई होटलमा बोलाएर बार्गेनिङ गर्ने, उनीहरूको स्वार्थ पूरा भए सबै ठिक, नभए व्यवसायीलाई बदनाम गराउने कार्य भइरहेको प्रति पुष्करले असन्तुष्टि पोखेका थिए।
एकातिर चोरी पैठारीबाटै दैनिक उपभोग्य वस्तुको माग पूरा भइरहेको छ। गैरकानुनी आयात बढ्दा राज्यले प्राप्त गर्ने राजस्वसमेत गुमिरहेको, देशभित्रका उद्योगको उत्पादन क्षमता निरन्तर घटिरहेकाले चोरी रोक्न भन्सार, राजस्व प्रशासन र प्रहरी प्रशासन खटिनुपर्ने बताएका थिए।
अर्थ सचिव पुष्करसँगको छलफलपछि आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र भन्सार विभागका प्रमुखबीच राजस्व चुहावट रोक्न र कर प्रशासनको ज्यादती अन्त्य गर्ने विषयमा छलफलसमेत भइसकेको छ।
नजिकिँदै गरेको चाडपर्वसँगै चोरी पैठारीले तीव्रता पाएको छ। चिनीलगायत दैनिक उपभोग्य वस्तुको चोरी पैठारीले दिनहुँ नयाँ रेकर्ड राखिरहेको छ। नेपालमा चिनी अभाव भइसकेपछि माग धान्न सम्पूर्ण चिनी चोरबाटोबाट नेपाल भित्रिएको राजस्व प्रशासन प्रमुखहरूबीच छलफल भएको थियो।
आयात घट्दा राजस्व संकलन प्रभावित बनेको छ। राजस्व छली हुन सक्ने क्षेत्रमा कडाइसाथ अनुगमन गर्न र चनाखो हुन अर्थ सचिव पुष्करले विभागीय प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए।