काठमाडौं। सन् २०१७ अघि नेपालमा कसैलाई ‘राइड सेयर’ अवधारणाबारे थाहै थिएन। अव्यवस्थित सार्वजनिक यातायात र ट्याक्सीको ज्यादती भोगिरहेका नेपाली यात्रुको जनजीवनले त्यतिबेला ‘यु टर्न’ लियो जतिबेला युवा उद्यमी शिक्षित भट्टले ‘टुटल’ सुरुवात गरे।
ट्याक्सीभन्दा सस्तो, बार्गेनिङ गर्न नपर्ने र ‘एप’ का भरमा मोटरसाइकल बोलाउन मिल्ने भएपछि यो युवा जमातमाझ लोकप्रिय बन्दै गयो।
टुटल लोकप्रिय हुँदै जाँदा अशिममानसिंह बस्न्यातले बंगलादेशी प्रविधिको राइड सेयरिङ एप ‘पठाओ’ नेपाल भित्र्याए।
काठमाडौंमा दुईपांग्रे सवारीसाधनले पैसा लिएर यात्रुलाई सेवा दिइरहेको कुरा थाहा पाएपछि केही ट्याक्सी व्यवसायीले टुटल/पठाओका राइडरलाई रोकेर अभद्र व्यवहार गर्न थाले।
यसैबीच ट्राफिक प्रहरीले २०७५ पुस २१ पनि केही राइडरलाई समातेर चिट काट्न थाल्यो।
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारीसाधनले उपदफा २ बमोजिम भाडा यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले कारबाही गरिएको ट्राफिकको तर्क थियो।
यो कारबाहीले दुईपांग्रे सवारीसाधनमार्फत यातायात सेवा बन्द हुने यातायात व्यवसायी र ट्राफिक प्रहरीको अनुमानविपरीत यसको लोकप्रियता झनै बढ्यो।
सीमित युवा वर्गमाझ लोकप्रिय राइड सेयर सेवा ट्राफिकको यो कदमपछि रातारात सबैको नजरमा आयो।
तत्कालीन राजनीतिक दल विवेकशील नेपालीका संयोजक उज्वल थापा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले राइड सेयरको पक्षमा खुलेरै ट्विट गरेपछि यसले आगोमा घ्यू थप्ने काम गर्यो।
यसपछि पनि यातायात व्यवस्था विभागका केही महानिर्देशकले बेला–बेला राइड सेयर सेवा दिए कारबाही हुने सूचना निकालिरहे।
राइड सेयर कम्पनीको काम रोक्न सरकारी पक्षबाट जति कदम चालिए, त्यसले राइड सेयर कम्पनीको लोकप्रियता झनै बढाउँदै लग्यो।
अन्ततः सरकारी पक्षबाट राइड सेयरलाई नियमन गर्न कानुन बनाउनुपर्ने कुरा उठ्न थाल्यो।
हाल यातायात व्यवस्था विभागले राइड सेयरसम्बन्धी कानुनको मस्यौदा तयार पारे पनि त्यो मन्त्रालयकै टेबुलमा घुमिरहेको छ।
हाल नेपालमा करिब २ लाखजना राइड सेयर सेवा दिन विभिन्न कम्पनीमा आबद्ध छन् भने दैनिक हजारौंले सेवा लिइरहेका छन्।
काठमाडौं केन्द्रित यो सेवा अहिले बाहिरी जिल्लामा पनि विस्तार हुन थालेको छ।
यो पाँच वर्ष नेपालमा दर्जनौं राइड सेयर कम्पनी सुरुवात भए पनि पठाओ, टुटल, इनड्राइभ अस्तित्वमा छन्।
२०१९ देखि एपमार्फत ट्याक्सी सेवा दिइरहेको ट्याक्सीमान्डुले पनि दसैंपछि राइड सेयर सेवा सञ्चालनमा ल्याउने तयारी थालेको छ भने हाम्रो पात्रोको टिमले पनि यसबारे अध्ययन अघि बढाएको छ।
यो क्षेत्रमा अहिले विभिन्न अन्तर्राष्ट्रिय राइड सेयर कम्पनीले आँखा लगाइरहेका छन्।
नेपाल प्रवेश गरेको पहिलो अन्तर्राष्ट्रिय राइड सेयरिङ ब्रान्ड पठाओले राम्रो बजार लिन थालेपछि इनड्राइभ पनि नेपाल भित्रियो। हाल इनड्राइभ पठाओको मुख्य प्रतिस्पर्धी हो।
पछिल्ला केही वर्ष अमेरिकी कम्पनी उबर, भारतीय कम्पनी ओला, युरोपेली कम्पनी बोल्ट र श्रीलंकाली कम्पनी पिक मीले पनि नेपालमा आफ्नो बजार विस्तार गर्न खोजिरहेका छन्। यी कम्पनीका प्रतिनिधि नेपालका विभिन्न सूचना प्रविधि (आइटी) कम्पनी र व्यपारिक समूहसँगको भेट तीव्र बनाइरहेका छन्।
सम्बद्ध स्रोतका अनुसार पिक मीले एक साताअघि नेपालको चर्चित मोबाइल वालेट कम्पनी ई–सेवाका प्रतिनिधिसँग भेटेका थिए भने बोल्ट आइएमई ग्रुपसँग नजिक छ।
नेपालजस्तो सानो बजारमा संसारका चर्चित राइड सेयर कम्पनीले किन आँखा लगाइरहेका छन त?
हामीले यो प्रश्न पठाओका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातलाई सोध्यौं।
‘नेपाल राइड सेयरका लागि सानो बजार होइन। अनि, ५० लाख जनसंख्या भएको काठमाडौंलाई सानो मान्न कदापि मिल्दैन,’ उनले भने।
नेपालको अव्यवस्थित यातायात व्यवस्थाका कारण राइड सेयर कम्पनीका लागि नेपाल उर्भर भूमि भएको उनको तर्क छ।
राइड सेयर कम्पनीले नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा ठूलो योगदान गरिरहेको उनको तर्क छ।
‘पठाओले मात्र एक वर्षमा १८ अर्बबराबर कारोबार गर्छ अर्थात जिडिपीमा ०.४ प्रतिशत योगदान गरिरहेको छ,’ उनले दाबीका साथ भने।
नेपालमा सरकारपछि राइड सेयर कम्पनीले रोजगारी सिर्जना गरिरहेको उनको भनाइ छ। ‘नेपालको सबैभन्दा ठूलो कम्पनी चौधरी ग्रुपले १० हजारलाई रोजगारी दिइरहेको होला। पठाओमा मात्र डेढ लाख राइडर आबद्ध छन् भने ५०/६० हजारले सक्रियरूपमा काम गरिरहेका छन्,’ उनले भने।
नेपालमा राइड सेयरको सम्भावना राम्रो भएकै कारण अन्तर्राष्ट्रिय ब्रान्डको आँखामा परेको उनको निष्कर्ष छ। नेपालको बजारले तीनवटासम्म राइड सेयर कम्पनी धान्न सक्ने बस्न्यातले बताए।
‘नेपालमा दिनदिनै राइड सेयर कम्पनी खुल्छन् र बन्द हुन्छन्। तर, ठुल्ठूला व्यवस्थित कम्पनी आए पनि हाम्रो बजारले तीनवटा राम्रोसँग धान्न सक्छ,’ उनले भने।