काठमाडौं। प्याजको भाउ आकासिएपछि बजारमा बिक्री हुन छाडेको छ । अधिक मुल्यकै कारण प्याजको कारोबार र उपभोग दुबैमा कमी आएको तरकारी व्यापारीहरु बताउँछन् ।
पछिल्लो सातामा प्याज बिक्री नै हुन छाडेको व्यापारीहरुले बताएका छन् ।लामो समयसम्म राख्दा बिग्रने र मुल्यका कारण उपभोक्ताले नकिन्ने त्रासले अहिले अधिकांश तरकारी व्यापारीले प्याज बिक्रिका लागि समेत राख्न छाडेका छन् ।
असोज १२ गतेदेखि भारतले प्याज निर्यात रोकेसँगै नेपालमा प्याजको मुल्य बढ्दै गएको हो । पछिल्लो पटक नेपाली बजारमा प्याजको खुद्रा मुल्य प्रतिकिलो २५० रुपैयाँसम्म पुग्यो ।
काठमाडौं उपत्यकाको ठूलो तरकारी बजार, कालीमाटी फलफुल तथा तरकारी बजारमै प्याजको थोक मुल्य किलोको १९० देखि २०० रुपैयाँसम्म पुग्यो । खुद्रामा व्यापारीले आफुखुुसी मुल्य राखेर प्याज बेचे ।
प्याजको मुल्य बढेसँगै आम उपभोक्ता सचेत भएर प्याज किन्न छाडेको कालीमाटी तरकारी फलफुल थोक बजार व्यवसायिक संस्थाको अध्यक्ष भरतप्रसाद खतिवडाले बताए ।
‘मुल्य बढेसँगै आम उपभोत्ता पनि सचेत हुनुभएको छ । प्याज कम गरौं र नेपालमै उत्पादन गर्नुपर्छ भन्ने सचेतना उपभोक्तामा आएको पाएका छौं’ उनले भने, ‘केही उपभोत्ताले त प्याज नभएपनि चल्छ भनेर किन्नै छाड्नुभएको पायौं । यसले उपभोत्ता सचेतना बढेको छ भन्ने हामीलाई लागेको छ ।’
अहिले कालीमाटी तरकारी बजारमा भारतीय प्याजभन्दा चिनिँया प्याजले आफ्नो स्थान ओगटेको खतिवडा बताउँछन् । भारतले रोकेपछि निर्वाध रुपमा चिनियाँ प्याज आउने गरेको छ ।
तरकारी बजारमा दैनिक ४० देखि ५० टन चिनियाँ प्याज आइरहेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिले जनाएको छ ।
चिनियाँ प्याज आउन थालेपछि बजार मूल्य केही घटेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । ‘पछिल्लो पटक प्याजको मुल्य केही घट्न सक्ने देखिएको छ’ उनले भने । बिक्री घटे पनि महंगोमा खरिद गरेकाले व्यापारिले कम गर्न सकेका छैनन ।
अहिले कालीमाटीमा चिनियाँ र भारतीय प्याजको खुद्रा मुल्य भने उस्तै छ । चिनिया प्याजको खुद्रा मुल्य १९० देखि २०० रुपैयाँ छ । त्यस्तै थोक मुल्य भने १६० रुपैयाँ कायम गरिएको समितिले बताएको छ ।भारतले प्रतिवन्ध लगाउनअघि कालीमाटीमा ८० देखि ९० टन प्याज भारतबाटै आउने गरेको थियो ।
प्याजको मुल्य अहिले नेपालमा मात्र होइन् अन्तर्राष्ट्रिय बजारमा समेत बढेको छ । पछिल्लो प्रतिवेदनअनुसार भारतमा प्रतिकेजी प्याजको खुद्रा मुल्य प्रतिकिलो १२० भारु पुगेको छ । प्याजको मुल्य आकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्याज नखाने घोषणा समेत गरेकी छिन ।
प्याज नेपालको हिमाली बाहेक सबै क्षेत्रमा उत्पादन हुन्छ । प्याज उत्पादनको सम्भावना पनि अधिक छ । तर, उत्पादकत्व बढ्न नसक्दा बार्षिक ५ अर्ब रुपैयाँको प्याज भारतबाट आयात गर्नुपर्छ ।
नेपालमा प्याजको माग र उत्पादन कति हुन्छ भनेर सरकारसँग यकिन तथ्यांक नभए पनि यहाँको मागको ७० प्रतिश प्याज विदेशबाटै आयात गर्नुपर्ने अवस्था रहेको कृषि विज्ञहरु बताउँछन् ।
सरकारले यसअघि प्याजमा आत्मनिर्भर हुन ‘प्याज मिसन’ कार्यक्रम अघि बढाएपनि अन्ततः कार्यक्रम प्रभावकारी हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि केसीको तर्क छ । नेपालमा उत्पादन गरेर आत्मनिर्भर हुन सक्ने कृषि विज्ञहरुको भनाई छ ।