काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘प्राइभेट इक्विटी÷भेन्चर क्यापिटल (पिइभिसी) लाई साढे ३० अर्ब रुपैयाँ लगानी संकलन गर्न स्वीकृति दिएको छ।
सेबोनले ८ पिइभिसीलाई ५० करोड रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म लगानी संकलन गर्न स्वीकृति दिएको हो।
नवीन प्रवर्तन तथा प्रारम्भिकस्तरका उद्योग–व्यवसायमा लगानी गर्ने उद्देश्यले १२ विशिष्टिकृत कोषले सेबोनबाट सञ्चालन अनुमति लिएका छन भने पाँचवता स्वीकृति पर्खाइमा छन्।
बोर्डबाट सञ्चालन अनुमति लिएका यस्ता कोष पिइभिसीका नाममा सञ्चालनमा छन्। यस्ता कोषले बजारबाट लगानी संकलन गरेर नवीन प्रवर्तन तथा प्रारम्भिकस्तरका व्यवसायमा लगानी गर्छन्। बजारबाट लगानी संकलन गर्न भने सेबोनबाट नै अनुमति लिनुपर्ने हुन्छ।
यसरी संकलित स्रोत नै पिइभिसीले स्टार्टअपलगायत उद्योग, कलकारखाना, व्यापार, व्यवसायमा पनि लगानी गर्छन्।
अहिले धितोपत्र बोर्डबाट अनुमति लिएर ग्लोबल इक्विटी फन्ड, अवसर इक्विटी, नबिल इन्भेस्टमेन्ट, एनएमबी क्यापिटल, प्रभु क्यापिटल एनआइबिएल एस क्यापिटल, एनआइसी एसिया क्यापिटल, अध्यान्ता फन्ड म्यानेजमेन्ट, अल्फा प्लस भेन्चर क्यापिटल, रिलायबल भेन्चर क्यापिटल र नेसनल फन्ड म्यानेजमेन्टले सञ्चालन स्वीकृति पाएका छन्।
त्यस्तै सिवेडा इक्विटी, एभरेस्ट फन्ड, इमर्जिङ भेन्चर, हिमालयन क्यापिटल र गलोबल आइएमई क्यापिटल गरी पाँचवटा स्वीकृृति पर्खाइमा छन्।
तीमध्ये ८ ले लगानी संकलन गर्न आवेदन दिएका थिए। आवेदन दिने ८ लाई स्वीकृति दिइएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए।
‘सबैभन्दा पहिले अवसर इक्विटीले पाएको हो, यसले बजारबाट पैसा पनि उठाइसकेको छ। बाँकी ७ ले गएको साता लगानी संकलन अनुमति पाएका हुन्,’ बोर्ड प्रवक्ता श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘लाइसेन्स नपाएका पाँचलाई पनि चाँडै स्वीकृति दिने गरी आवश्यक प्रक्रिया अघि बढाएका छौं।’
यस्ता कोषमा लगानी गर्ने लगानीकर्ताले कम्तीमा ५ वर्षदेखि १५ वर्षसम्मका लागि न्यूनतम ५० लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने प्रावधान छ। यस्ता कोषले संस्थागत वा व्यक्तिगत लगानीकर्ताबाट लगानी संकलन गरेर स्टार्टअप, उद्योग–व्यवसायमा लगानी गर्छन्।
बोर्डले लगानी संकलनका लागि सबैभन्दा धेरै नबिल इन्भेस्टमेन्ट र सबैभन्दा कम प्रभु क्यापिटललाई अनुमति दिएको छ।
बोर्डले अवसर इक्विटीलाई ५ अर्ब, प्रभु क्यापिटल ५० करोड, एनआइबिएल एस क्यापिटल १० अर्ब, लक्ष्मी क्यापिटल १ अर्ब र अध्यन्ता फन्डलाई ३ अर्ब लगानी संकलन गर्न स्वीकृति दिएको हो। साथै, अल्फा प्लस भेन्चरले २ अर्ब, रिलायबल भेन्चरले २ अर्ब र नेसनल फन्डले ७ अर्ब रुपैयाँ लगानी संकलन स्वीकृति बोर्डबाट पाएको हो।