काठमाडौं। केटिएम ग्रुपको लगानीमा चितवनको सौराहामा पाँचतारे स्तरको लक्जरियस रिसोर्ट निर्माण भइरहेको छ। रिसोट आउँदो २०८१ वैशाखदेखि असारसम्म सञ्चालनमा आउने भएको छ। ग्रुपको स्पेशल प्रपोज भेहिकल (एसपिभी) केटिएम हस्पिटालिटी प्रालिले निर्माण गरिरहेको छ।
होटलको लागत १ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको छ। निर्माणधिन लक्जरियस रिसोर्टमा ६४ कोठाहरु हुने छन्। प्रतिकोठा लागत १ करोड ९० लाख रुपैयाँ रहेको छ। जसमा ८० प्रतिशत ऋण र बाँकी २० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुने केटिएमले जनाएको छ।
होटलको व्यवस्थापन युरोपको लुभ्र होटल समूहले सम्हाल्ने भएको छ। होटल व्यवस्थापन सम्हाल्ने विषयमा लुभ्रु र केटिएमबीच सम्झौता भइसकेको छ।
होटल रोयल ट्यूलिप ब्राण्डमा सञ्चालनमा हुने भएको छ। रिसोर्टको गत असारसम्म ५१ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। रिसोर्टमा अझै २० प्रतिशत स्वपुँजी लगानी गर्न बाँकी छ। केटिएम ग्रुपको पहिलो रिसोर्ट हो।
रिसोर्टको सिभिल निर्माणको काम सकिएको छ। अहिले मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ र फिनिसिङको काम जारी छ।
केटिएमले होटल बनाउन विभिन्न बैंकहरुबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ। रिसोर्टले ऋणको रेटिङ गराएको छ। दीर्घकालिन ऋण ९५ करोड ५० लाख रुपैयाँ छ। यस्तै अल्पकालिन ऋण ४ करोड ५० लाख रुपैयाँ छ।
गैरआवासिय नेपाली रामेश्वर शाहको लगानी रहेको छ। केटिएम हस्पिटालिटी सन् २०२० को जनवरीमा स्थापना भएको हो। रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको छ।
चितवनको सौराहामा होटलहरुबीच उच्च प्रतिस्पर्धा छ। प्रतिस्पर्धाबाट कोठा र फूडको मूल्य निर्धारणमा दबाब हुन सक्ने भएकाले रिसोर्टको जोखिम बढाउने संभावना छ। सरकारले सन् २०२३–२०३३ लाई पर्यटन दशकको रुपमा मनाउँदै छ। पर्यटकको संख्या बढ्न गई होटलले यसबाट ठूलो लाभ लिन सक्ने संभावना छ।