काठमाडौं। नेपालमा हालसम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको ६२.६ प्रतिशत उत्पादनमूलक उद्योगमा रहेको तथ्यांक सार्वजनिक भएकाे छ।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा कुल २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। जसमध्ये १ खर्ब ६५ अर्ब ४७ करोड रुपैयाँ औद्योगिक क्षेत्रमा भित्रिएको केन्द्रीय बैंकको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ ले देखाएको हो।
उक्त अवधिमा ५७ देशले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरेका छन्। जसमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्र र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ।
औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ। यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा छ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीको नाफाको दर करिब १४.३ प्रतिशत छ।
कुन क्षेत्रमा कति प्रत्यक्ष वैदेशिक लगानी?
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार ५७ देशले नेपालका विभिन्न क्षेत्रमा ०.०१ प्रतिशतदेखि ३२.८ प्रतिशतसम्म लगानी गरेका छन्। जसमा सबैभन्दा बढी बिजुली, ग्यास, स्टिम र एयरकन्डिसन क्षेत्रका उद्योग र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रमा छ।
बिजुली, ग्यास, स्टिम र एयरकन्डिसन क्षेत्रका उद्योगमा ८६ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। यो क्षेत्रको कुल लगानीमध्ये प्रत्यक्ष वैदेशिक लगानीको हिस्सा ३२.८ प्रतिशत हो।
साथै, उत्पादन क्षेत्रसँग सम्बन्धित उद्योगमा ७७ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ। यस क्षेत्रमा रहेको कुल लगानीमध्ये प्रत्यक्ष वैदेशिक लगानीको हिस्सा २९.५ प्रतिशत हो।
यस्तै बैंक तथा वित्तीय र बिमा सेवाका क्षेत्रमा ६७ अर्ब ७८ करोड रुपैयाँ छ। यो क्षेत्रको कुल लगानीमध्ये २५.६ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी आवास तथा खाद्य क्षेत्रमा १३ अर्ब ८८ करोड, सूचना तथा प्रविधि १२ अर्ब ७३ करोड, शिक्षा २ अर्ब ७ करोड, मानव स्वास्थ्य तथा सामाजिक कार्य ७३ करोड, निर्माण ६६ करोड, कृषि तथा वन र माछापालनमा २६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ।