काठमाडौं। मनाङका स्थानीय किसानद्वारा उत्पादित स्याउबाट बनेको ‘मनाङ भ्याली वाइन’ नेपाली बजारमा सार्वजनिक भएको छ।
कलाकार स्वस्तिमा खड्कालगायत सञ्चारकर्मीको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो। अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र सार्वजनिक गर्ने गरिएकोमा मनाङ बेभरेजले भने ३ हजार ५ सय मिटर उचाइमा रहेको साब्जे लेकमा सञ्चारकर्मीलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो।
‘हिमालयको शुद्धता र मौलिकपनबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजार ल्याएका हौं। स्थानीयस्तरमा उत्पादित स्याउबाट अत्यधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन बजार ल्याउन पाउँदा उत्साहित छौं,’ मनाङ बेभरेजका निर्देशक आश्रय रञ्जितकारले भने, ‘विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउने विश्वास छ।’
प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रण रहेको मनाङ भ्यालीमा स्थानीय किसानद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जनाएको छ। मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यका रूपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ।
मनाङ भ्याली वाइन आगमनले स्थानीयरूपमा उत्पादित सामग्री प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण दिएको कम्पनीले जनाएको छ।
‘मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वादको छ। यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनको आभास हुन्छ,’ कलाकार स्वस्तिमा खड्काले भनिन्, ‘विदेशी वाइनले प्रभूत्व जमाउँदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो।’
मनाङ भ्याली वाइन ह्वाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।