काठमाडौं। नेपालमा २ खर्ब ६४ अर्बभन्दा बढी वैदेशिक लगानी रहेको छ। आर्थिक वर्ष २०७८/७९ सम्ममा ५७ देशले २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको हो।
केन्द्रीय बैंक आर्थिक अनुसन्धानद्वारा गरिएको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ ले नेपालमा सबैभन्दा बढी भारतको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गरेको छ।
विभागले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३१ कम्पनीको नमुना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा भारतको प्रत्यक्ष वैदेशिक लगानी ८८ अर्ब ५९ करोड रुपैयाँ छ।
भारतपछि नेपालमा बढी प्रत्यक्ष वैदेशिक लगानी चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्ड २० अर्ब ९० करोड, सिंगापुर १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ।
२०७८/७९ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चितिको ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ।
यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा छ। वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्र वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ।
कुन क्षेत्रमा कति प्रत्यक्ष वैदेशिक लगानी?
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार ५७ देशले नेपालका विभिन्न क्षेत्रमा ०.०१ प्रतिशतदेखि ३२.८ प्रतिशतसम्म लगानी गरेका छन्। जसमा सबैभन्दा बढी बिजुली, ग्यास, स्टिम र एयरकन्डिसन क्षेत्रका उद्योगमा र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रमा छ।
बिजुली, ग्यास, स्टिम र एयरकन्डिसन क्षेत्रका उद्योगमा ८६ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ। यो क्षेत्रको कुल लगानीमध्ये प्रत्यक्ष वैदेशिक लगानीको हिस्सा ३२.८ प्रतिशत हो। साथै, उत्पादन क्षेत्रसँग सम्बन्धित उद्योगमा ७७ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ। यस क्षेत्रमा रहेको कुल लगानीमध्ये प्रत्यक्ष वैदेशिक लगानीको हिस्सा २९.५ प्रतिशत हो।
यस्तै बैंक तथा वित्तीय र बिमा सेवाका क्षेत्रमा ६७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। यो क्षेत्रको कुल लगानीमध्ये २५.६ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी आवास तथा खाद्य क्षेत्रमा १३ अर्ब ८८ करोड, सूचना तथा प्रविधि १२ अर्ब ७३ करोड, शिक्षा २ अर्ब ७ करोड, मानव स्वास्थ्य तथा सामाजिक कार्य ७३ करोड, निर्माण क्षेत्र ६६ करोड, कृषि तथा वन र माछा पालनमा २६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ।
सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा
नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा छ। बागमतीमा ५५.४ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ४२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
यस्तै कोशी प्रदेशमा १७ प्रतिशत अर्थात ४५ अर्ब ५ करोड, गण्डकी प्रदेश ४४ अर्ब ४३ करोड, मधेस प्रदेश ८.८ प्रतिशत अर्थात २३ अर्ब ३२ करोड, लुम्बिनी प्रदेश १ प्रतिशत अर्थात २ अर्ब ७१ करोड, सुदूरपश्चिम प्रदेश ०.९ प्रतिशत अर्थात २ अर्ब ३२ करोड र सबैभन्दा थोरै कर्णाली प्रदेशमा ०.०२ प्रतिशत अर्थात ४ करोड ७८ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी छ।