काठमाडौं। साउन पहिलो साता पृथ्वी राजमार्गको सिद्धबाबा सुरुङमार्गमा गएको पहिरो पन्छाउने समय अझै निश्चित भएको छैन। जेठबाट सुरुङ प्रवेशद्वार एवं साइट पोर्टलको काम सुरु भएको थियो।
प्रवेशद्वारमा पहिरो जान नदिन काम गरिरहेकै समयमा पहिरोले क्षति पुर्याएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका इन्जिनियर सविता ज्ञवालीले बताइन्। उनका अनुसार सुरुङमार्ग प्रवेशद्वार निर्माण गर्ने क्रममा पहिरो गएपछि थप काम गर्न सकिएको छैन।
निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले जेठबाट सुरुङको ड्राइभर्सन, प्रस्थानबिन्दु र अन्तिमबिन्दुमा स्लोप कटिङको काम गरेको थियो। ‘पहिरो गएको दुई महिना बढी भयो, अहिलेसम्म निर्माण कम्पनीले पन्छाएको छैन,’ इन्जिनियर ज्ञवालीले क्यापिटल नेपालसँग भनिन्, ‘त्यही पहिरोमाथि बाटो बनाएर प्रोटेक्सनको काम गर्नुपर्ने भएकाले नपन्छाइएको हो।’
सुरुङ खन्ने काम सुरु नभए पनि पहिरो रोकथामको काम सुरुङ निर्माणभित्रै पर्ने उनको भनाइ छ। निर्माण कम्पनीले सुरुङको दुवैतर्फ (प्रस्थानबिन्दु र अन्तिमबिन्दु) बाट काम सुरु गरेको र दुवैतर्फ पहिरो गएको छ।
सुरुङ निर्माणको जिम्मेवार निकाय गुणस्तर अनुसन्धान तथा विकास केन्द्र हो। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) दीप बाराही पनि निर्माण कम्पनीले पहिरो नपन्छाएको भन्दा पनि प्रवेशद्वारमा थप पहिरो नजाओस् भनेर वरिपरिको भागमा प्रोटेक्सनको काम गर्न लागेको बताउँछन्।
‘अहिले सुरुङ खन्नुभन्दा वरिपरिको भूगोल सुरक्षित बनाउने काम हुँदैछ,’ सिडिई बाराहीले भने, ‘प्राविधिक कुरा हो, अहिले नै कहिलेसम्म पहिरो पन्छाउन सकिन्छ यकिन छैन।’
लागत रकम र समय नबढ्ने
१ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। सुरुङ निर्माण ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा हुँदैछ।
इपिसी मोडेलमा ठेक्का सम्झौता गरेपछि निर्माणाधीन समयमा आउने हरेक समस्या र चुनौती निर्माण कम्पनीले नै बेहोर्नुपर्ने हुन्छ। जसका कारण सिद्धबाबामा पहिरो जाँदैमा सरकारलाई आर्थिक भार नपर्ने इन्जिनियरहरू बताउँछन्।
साथै, बर्खामा पहिरो जाने र अन्य समस्याका विषयमा ख्याल गरेरै निर्माणको म्याद तय भएकाले कहिलेकाहीँ आउने समस्याले धेरै असर नपर्ने इन्जिजियर ज्ञवाली बताउँछिन्।
‘इपिसी मोडेलको फाइदा भनेकै सम्झौतापछि आउने समस्यामा सरकारलाई थप आर्थिक, प्राविधिक तथा अन्य भार नपर्नु हो, त्यसैले पहिरोको जिम्मेवारी निर्माण कम्पनीकै हो,’ उनले भनिन्। चाइना स्टेट र विकास केन्द्रबीच २०७८ फागुनमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।
मुख्य सुरुङ डिजाइन स्वीकृत हुन बाँकी
सुरुङमार्गको बाहिरी भागको निर्माण सुरु भए पनि मुख्य सुरुङको डिजाइन स्वीकृत गर्न बाँकी रहेको सिडिई बाराही बताउँछन्। चाइना स्टेटले पाँच वर्षको म्यादमध्ये बढीमा एक वर्षभित्र सुरुङको डिजाइन तयार गरेर केन्द्रलाई दिनुपर्ने र बाँकी चार वर्षमा निर्माणको काम सम्पन्न गर्नुपर्छ।
चाइना स्टेटले सम्झौताअनुसार डिजाइन तयार गरेर विकास केन्द्रलाई दिइसकेको छ। केन्द्रले नौ महिनाभित्र डिजाइन अध्ययन गरेर स्वीकृत गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले दिएको डिजाइन केन्द्रले सडक विभाग तथा स्वीजरल्यान्डका प्राविधिकसँगको सहकार्यमा अध्ययन गर्दैछ।
‘पहिला कुन काम गर्नुपर्ने हो, त्यो पार्टको डिजाइन स्वीकृत गरेर अरू बिस्तारै गर्दैछौं, डिजाइनका कारण काम रोकिँदैन,’ सिडिई बाराहीले भने, ‘अहिले जति काम भइरहेको छ, त्यो सबै स्वीकृत भएको हो। अब बाँकी मुख्य सुरुङको डिजाइन हो। त्यो पनि छिट्टै स्वीकृत हुन्छ।’
बर्खाअघि नै सबै डिजाइन स्वीकृत गर्ने योजना बनाए पनि स्वीजरल्यान्डको प्राविधिक टोलीले केही विषयमा थप छलफल गर्नुपर्ने जनाएपछि समय लम्बिएको उनको भनाइ छ। साथै, पहिरोका कारण सरकारलाई आर्थिक भार नथपिए पनि निर्माण कम्पनीलाई थपिँदा चुनौती बढ्ने सिडिई बाराही बताउँछन्।