काठमाडौं। सिडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक सेयर (आइपिओ) को आवेदनमा ‘एप्लिकेसन प्रोग्रामिङ इन्टरपेल्स’ (एपिआई) सिस्टम ल्याउने भएको छ। सिडिएसले आइपिओमा आवेदन दिएपछि तत्कालै पैसा ‘ब्लक’ गराएर आवेदन रद्द कम गर्न लागेको हो।
अहिलेसम्म सि–आस्वा सेवा दिने बैंकले मेरो सेयरको ‘अपडेट’ हेरेर आवेदकको खाताबाट आवेदनवापत पैसा खाताबाट रोक्का गर्न गरेको छ। जुन प्रक्रिया २४ घन्टासम्ममात्रै बैंकहरूले पूरा गर्न सकिरहेका छन्।
बैंकले तत्काल खाताको पैसा रोक्का नगर्दा आवेदकले खाताबाट पैसा चलाउने र पर्याप्त पैसा नभएका आवेदन रद्द हुने धेरै हुन्थ्यो। यही प्रवृत्ति रोक्न एपिआई सिस्टम ल्याउन लागिएको सिडिएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए।
खातामा १ हजार भएर आवेदन दिने तर बैंकले तत्काल रोक्का नगर्दा दिनभरिमा आवेदकले अन्य ठाँउमा खाताको पैसा खर्च गर्दा त्यस्ता आवेदन रद्द हुने गरेको थियो। अब भने सिडिएसले एप्लिकेसन प्रोग्रामिङ इन्टरपेल्स बैंकको सिस्टममै जडान गर्ने र बैंकले रियल टाइममै आवेदनवापत पैसा खातामा रोक्का गर्न सक्ने उनले बताए।
‘अब एप्लिकेसन प्रोग्रामिङ इन्टरपेल्स बैंकहरूले आफ्नो सिस्टममा राख्छन्, यसले गर्दा आवेदनवापत पैसा तत्काल रोक्का हुन्छ। जसले गर्दा खातामा पर्याप्त पैसा नभएर रद्द हुने आवेदन संख्या कम हुन्छ,’ सिडिएस प्रवक्ता न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘यो सिस्टम जडान गर्न बैंकहरूले भोलि वा पर्सि नै पत्र पठाउँछौं।’
सिडिएसले नेपाल धितोपत्र बोर्डबाट एपिआई सिस्टम सञ्चालन कार्यविधि स्वीकृति पाइसकेको छ। सोही कार्यविधिअनुसार अब आइपिओ भरेपछि बैंकले तत्कालै खाताको पैसा रोक्का गर्न पाउने भएको हो।