- आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१९ भित्रै गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
- स्व. पर्यटन मन्त्री रविन्द्र अधिकारीले २०७६ सालको असार भित्रै विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।
- योगेश भट्टराई पर्यटन मन्त्री भएर आए लगत्तै एक बर्षे प्रमुख प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै डिसेम्बर भित्र सिभिल र मेकानिकल कार्य सम्पन्न गर्ने र अर्को ३ महिना भित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने घोषणा गरे ।
आज डिसेम्बर ४ । पर्यटन मन्त्रीले घोषणा गरेको एक बर्षे कार्यक्रम अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको सिभिल र मेकानिकल कार्य सम्पन्न गरेर यहि महिनाभित्र परिक्षण उडानका लागि तयारी थाल्नुपर्ने हो । तर, हालसम्म विमानस्थलको ७८ प्रतिशत सिभिल र मेकानिकलतर्फ ६ दशमलव ५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाका अनुसार सिभिल र मेकानिकलको काम सकिन मात्रै थोरैमा करिब ४ महिना लाग्छ ।
क्यानका पदाधिकारीको गलत सूचनाबाट हौसिएर डिसेम्बरभित्र विमानस्थल सञ्चालन गर्ने घोषणाले पर्यटन मन्त्री भट्टराई अहिले गलत सावित भएका छन् । यसरी क्यानका पदाधिकारीको गलत सूचनालाई पत्याएर जनतालाई आश्वासन दिनेमा उनि मात्रै होइनन् देशकै सम्मानित राष्ट्रपति समेत मुछिन् पनि ।
आफूलाई अब्बल देखाउने लोभमा क्यानका अधिकारीले दिएको सुचनालाई आधार मानेर राष्ट्रपतिले आर्थिक वर्ष २०७६÷२०७७ नीति तथा कार्यक्रममा समेत २०१९ भित्र गौतमबुद्ध विमानस्थल सम्पन्न गर्ने घोषणा गरिन् । तर, अहिले उक्त समयसीमाभित्र विमानस्थल सञ्चालनमा नआउने पक्का भएपछि त्यसको ‘अपजश’ राष्ट्रप्रमुख र विभागीय मन्त्रीले लिनु परेको छ ।
राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले आफ्ना महानिर्देशक राजन पोखरेललाई गतल सूचना दिएको र उनले सोही सूचना राष्ट्रप्रमुख तथा विभागीय मन्त्रीलाई दिएका हुन् । तर, अहिले उनै पदाधिकारीहरु डिसेम्बरभित्र विमानस्थल सञ्चालन गर्न नसकिने भन्दै समय थपका लागि मन्त्रालय धाइरहेका छन् । यस अघि पनि एक पटक म्याद थपिसकिएको छ ।
यस विषयमा बुझ्न खोज्दा निर्देशक अधिकारीले उपकरण ल्याउन ढिला भएकाे कारण आयोजनाकाे काम लम्बिएकाे बताए । गौतमवुद्ध विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार हाल आयोजनाको प्रगति विवरण ८४.०५ प्रतिशत पुगेको छ । ‘कतिपय महत्वपूर्ण सामान आउनै बाँकी छ,’ अधिकारीले भने, ‘ती सामान आउने वित्तिकै जडान गरिन्छ ।’
नेपालकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गराउन यो विमानस्थल भ्रमण वर्ष २०२० सुरु हुनु अगावै सञ्चालनमा ल्याउने प्रचार गरिएको थियो । स्रोतका अनुसार मार्चको अन्तिममा आयोजनाको काम सम्पन्न गर्ने गरी म्याद थपको गृह कार्य भइरहेको छ । यस अघि गौतमबुद्ध विमानस्थल निर्माणको अवधि २८ जुन २०१९ सम्मको थियो । पछि डिसेम्बरसम्म थप गरिएको थियो ।
४० चिनियाँ कामदारको भिसा सकिदै
एसियाली विकास बैङ्क(एडीबी)को अनुदानसहित ६ अर्ब ८२ करोड लागतमा ७ सय ८७ बिघा क्षेत्रफलमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थलभित्र चिनियाँ ४० र नेपाली २ सय कामदार छन् । चिनियाँ कामदारको भिसाको म्याद डिसेम्बर भित्रै नै सकिदैंछ ।
हाल विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, जहाज पार्किङ स्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युतगृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको आन्तरिक सजावटको काम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
त्यस्तै जहाज उडान र अवतरण, व्यवस्थापनका साथै जहाजको अवस्थितिबारे जानकारी दिने उपकरण, जहाजलाई मार्गनिर्देशन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विमानस्थललाई आवश्यक सम्पूर्ण उपकरण जडान तीन महिनाभित्र पूरा हुने उनको भनाइ छ ।
विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग निर्माण भइसकेको छ ।