काठमाडौं। चालू आर्थिक वर्षको भदौ मसान्तसम्म प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ७० हजार रुपैयाँ बढी पुगेको छ। उक्त अवधीमा नेपालको सार्वजनिक ऋणी २३ खर्ब ९ अर्ब रुपैयाँ बढी पुग्दा जनतालाई ऋणको भर समेत थप भएको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म सरकारले आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ तिर्न बाँकी छ।
यस्तो ऋण गत आर्थिक वर्षको असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ थियो। दुई महिनामा ४४ अर्ब २६ करोड आन्तरिक र ४ अर्ब ९७ करोड रुपैयाँ बाह्य ऋण थप भएको हो।
यसैगरी उक्त अवधिमा सरकारले कुल ३८ अर्ब ७१ करोड साँवा भुक्तानी गरेको छ। जसमध्ये ३२ अर्ब ८३ करोड आन्तरिक र ५ अर्ब ८८ करोड रुपैयाँ बाह्य ऋणको भुक्तानी गरेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ थियो। जसमा चालु आर्थिक वर्षको पहिलो २ महिनामै ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ सार्वजनिक ऋण थप भएको हो।
जसमा ३८ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुँदा चालु आर्थिक वर्षको भदौ महिनासम्म सरकारको सार्वजनिक ऋण १० अर्ब ५१ करोड ७१ लाख रुपैयाँ थप भएको हो।
भदौ मसान्तसम्म थप भएको सार्वजनिक ऋणमा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना हुँदा प्रतिव्यक्ति ऋणको दायित्व भने ३ सय ६ रुपैयाँ हुन जान्छ।
यो २ महिना सरकारको सार्वजनिक ऋण १० अर्ब रुपैयाँ बढी थप हुँदा जनतामा ऋणको दायित्व पनि ३ सय रुपैयाँ बढीले थप भएको हो।