सिन्धुली। जिल्लाको मरिण गाउँपालिका वडा नं. २ को आधा दर्जन बढी गाउँमा बिजुली पुगेको छ। स्थानिय नागरिक, वडा कार्यालय र गाउँपालिकाको विशेष पहलमा वडा नं. २ को आधा दर्जन जति गाउँमा बिजुली पुगेको हो।
सोही पालिकाअन्र्तगत वडा नं. २ को रातमाटामा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले ट्रान्समिटरको फ्यूज जोडेर राष्ट्रिय प्रसारण लाईनको बिजुलीको उद्घाटन गरेका छन्।
वर्षौंदेखि बिजुली नपुगेको वडा नं. २ को सिन्दुरेदोभान, बर्खे, जल्केनी, पाङ्ग्रे डाँडा, रातमाटा, ढाँडपाखा, सिंजाली डाँडा, कटुन डाँडा, हात्तिगौडालगायतका ठाउँका २ सय ९० घरधुरीमा बिजुली पुगेको वडा २ का वडा अध्यक्ष कमलबहादुर आलेमगरले बताए।
वर्षौदेखि ठेकेदार कम्पनीको लापरवाहीले बिजुली विस्तारमा ढिलाई भएको थियो। वडा कार्यालय र गाउँपालिकाको समन्वयमा स्थानीयको पहलमा तीन महिना जनश्रमदान गरेर गाउँमा बिजुली पुर्याएको वडा अध्यक्ष आलेमगरले जानकारी दिए।
गाउँमा मुख्यलाइन र शाखा लाइनमा तार, पोल विस्तार भईसकेको र घरमा जडान गर्न मिटर ल्याउने काम भईरहेको वडाअध्यक्ष आलेमगरको भनाई छ। अहिले सम्म ९२ थान मिटर आइसकेको र ल्याउन बाँकीले घरधुरीले वडा कार्यालयबाट सिफारिस बनाएर लगिरहेका वडा अध्यक्ष आलेमगरले जानकारी दिए।
‘आज हामीले मुख्यलाईनमा बिजुली पुर्याएर उद्घाटन गरेका छौं। अहिले गाउँका नागरिकले धमाधम वायरिङको काम गरी रहेका छन् । मिटर ल्याउने काम पनि भईरहेको छ। दसैंअघि सबैको घरमा बिजुली बल्छ’ वडाअध्यक्ष आलेमगरले भने।