काठमाडौं। सबैभन्दा बढी अमेरिकी डलर आर्जन गर्नेमा सरकार स्वामित्वको नेपाल वायुसेवा निगम(नेवानि) र म्यारियट होटल रहेका छन्। वायुसेवा निगमले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९ सय ३७ डलर आर्जन गरेको छ। यस्तै होटलतर्फ एभरेष्ट हस्पिटालिटी(म्यारियट)ले ५० लाख ४१ हजार २ सय ३७ डलर आर्जन गरेको हो।
सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्म सबैभन्दा विदेशी मुद्रा आर्जन गर्ने ८ वटा क्षेत्रलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४४ औं विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरेको छ।
बुधबार आयोजित एक कार्यक्रमको अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पर्यटनमार्फत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मान गरेका हुन्।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ट्रेकिङ र पर्वतारोहणतर्फ सेभेन समिटले ४३ लाख २२ हजार ६४ डलर, ट्राभल एण्ड टुर्सतर्फ सीता वल्र्डले ३३ लाख ६१ हजार १ सय ३६ डलर, साहसिक खेलतर्फ पोखरा अल्ट्राले ४४ हजार ३ सय ८८ डलर आर्जन गरेको छ।
यस्तै २२ विगाहमा कृषि फार्ममा ३ विगाहमा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाईसमेत विकास गरेको भन्दै लुम्बिनी ग्रीन रिसोर्ट शिवराज, कपिलवस्तुलाई सम्मानित गरिएको छ।
यस्तै होमस्टेमा अमलटारी मध्यवर्ती सामुदायिक कावासोती र पर्वतारोहीतर्फ विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु ९२ दिनभित्र आरोहण गरी कीर्तिमान कायम गर्न सफल आरोहीको रुपमा तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलालाई सरकारले सम्मान गरेको हो।