काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसिसी) ले बजेट अभावका कारण नेपालमा बनाउने सडकको लम्बाई ३७ किलोमिटर घटाएको छ। एमसिसीको नेपालस्थित सम्पर्क कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए नेपाल) का अनुसार जेठमा अर्थ मन्त्रालयसँग भएको एमसिसीको पुरक सम्झौतामा सडकको लम्बाइ घटाउने सहमति भएको हो।
यस विषयमा अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनिराम शर्माले भने नयाँ प्रविधि ‘फूल डेफ्थ रिकभरी’ (एफडिआर) प्रयोगको लम्बाइ घटेको बताउँछन्। ‘बजेट व्यवस्थापनमा समस्या देखिएपछि नयाँ प्रविधि प्रयोग गर्ने सडकको लम्बाइ घटाउने भनिएको छ, पहिला ७७ थियो अहिले ४० किमीमा सिमित छ’ प्रवक्ता शर्माले भने।
त्यसबाहेक ९० किमी सामान्य मर्मत सुधार गर्ने जानकारी एमसिए नेपालले गराएको उनको भनाइ छ। यसरी हेर्दा एमसिए नेपालबाट १ सय ३० किमी सडक बन्ने देखिन्छ। तर, मुख्य काम (एफडिआर प्रविधि प्रयोग) गर्ने लम्बाइ भने घटेको हो।
७७ किलोमिटर सडक बनाउन ५ करोड २२ लाख ८५ हजार अमेरिकी डलर र सरकारले २१ लाख डलर अर्थात् करिब सवा ७ अर्ब रुपैयाँ खर्च गर्ने एमसिएले जनाएको थियो। तर, लम्बाइ घटेपछि लागत कति घट्यो भन्ने विषयमा एमसिएले प्रष्ट नपारेको प्रवक्ता शर्मा बताउँछन्।
केही समय अघिसम्म एमसिसी परियोजनामार्फत् नेपालमा ७७ किलोमिटर सडक नयाँ प्रविधि एफडिआर प्रयोग गरेर निर्माण गर्ने जनाएको एमसिए नेपालका एक कर्मचारी बताउँछन्। तर, जेठमा भएको पुरक सम्झौताले उक्त लम्बाइ घटाएर ४० किमीमा सीमित गरेको ति कर्मचारी बताउँछन्। साथै सामान्य मर्मतका लागि ९० किमी थप भइ अर्थात् कुल १ सय ३० किमी सडकमा काम गर्ने भएको छ।
यसअघि ७७ मध्ये ४० किलोमिटर ‘पाइलट प्रोजेक्ट’ का रूपमा सडक निर्माण गर्ने र बाँकी ३७ किमीलाई विस्तारै काम गर्ने बताइएको थियो। पूर्व–पश्चिम राजमार्गमा पर्ने दाङको धानखोला–शिवाखोला (७७ किमी) खण्डमा एमसिएले एफडिआर प्रविधिको प्रयोग गर्ने जनाएको थियो।
उक्त प्रविधि प्रयोग गरेर बनाएको सडक करिब २० वर्ष टिकाउ हुने प्राविधिकहरुको भनाइ छ। तर, एमसिए नेपालका अर्का एक कर्मचारी भने सडक विभागले लमहीभन्दा पश्चिमतर्फको खण्डमा काम गर्न थालेपछि पुनः अध्ययन गरेर ४० किमी सडकमा मात्रै एफडिआर प्रविधि प्रयोग गर्न लागिएको दाबी गर्छन्।
तर, विभागका महानिर्देशक सुशीलबाबु ढकाल भने एमसिसी परियोजनाले गर्ने कामको विषयमा प्रत्यक्ष रुपमा विभागलाई जानकारी नहुने बताउँछन्। उनका अनुसार एउटा छलफलमा एमसिए नेपालले ४० किमी एफडिआर र ९० किमी सामान्य मर्मत गर्ने बताएको थियो।
‘म सहभागी भएको एउटा बैठकमा ४० किमी एफडिआर र ९० किमी सामान्य मर्मत गर्ने सुनेको हो त्यहि पनि आधिकारीक जानकारी आएको छैन’ क्यापिटल नेपालसँग महानिर्देशक ढकाल भन्छन्, ‘अरु देशले गर्ने सहयोग हामीसँग प्रत्यक्ष जोडिन्छन् तर एमसिसीको काम एमसिए नेपालबाट हुनेभएर धेरै जानकारी हुँदैन।’
कुल एक हजार २८ किमी लामो पूर्व–पश्चिम राजमार्गको ४० किमी सडक एमसिएले दुई लेनमा बनाउने छ। बाँकी सडक भने विभागले विभिन्न देशको ऋण सहयोगमा चार लेनमा विस्तार गर्दै आएको छ।