काठमाडौं। यसपालि दसैं बिदा कात्तिक ४ बाट सुरु हुँदैछ। सार्वजनिक बिदा हुनुअघि पाँच वाणिज्य बैंक, एक लघु वित्त र एक होटलले सेयरधनी र कर्मचारीलाई बोनस दक्षिणा दिने तयारी गरेका छन्।
अघिल्ला आर्थिक वर्ष आर्जित नाफाबाट कर्मचारी र सेयरधनीलाई दिनुपर्ने लाभांश दसैंमा ‘दक्षिणा’ स्वरूप सार्वजनिक बिदा सुरु हुनुअघि साधारणसभा सकेर खातामा पठाउने तयारी ७ कम्पनीको छ। यसका लागि ती कम्पनीले साधारणसभाको मितिसमेत तय गरी सेयर दाखिला मिति निर्धारण सूचना सार्वजनिक गरिसकेका छन्।
गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तिम लेखापरीक्षण गरी नियामक निकायको स्वीकृतिमा दसैंअघि नै साधारणसभा गर्नेमा पाँच वाणिज्य बैंक, एक लघुवित्त र एक होटल छन्।
तीमध्ये केही कम्पनीले विशेष प्रयोजनार्थ दसैंअघि विशेष साधारणसभा र डाकेका छन्। केही कम्पनीले नियमित साधारणसभा बोलाएर पनि सेयरधनीमा लाभांश वितरणको प्रस्ताव नै गरेका छैनन्।
साधारणसभा सम्पन्न भएपछि कम्पनीले बोनस ऐनअनुसार कर्मचारीमा नाफाको १० प्रतिशत बोनस रकम खातामा पठाउनुपर्छ।
कम्पनीहरूले घोषणा गरेको लाभांश (बोनस) सेयरधनीको खातामा आउन नेप्सेमा सूचीकरण हुनुपर्छ। कर्मचारीले बोनस र सेयरधनीले नगद लाभांश भने साधारणसभा सम्पन्न भएपछि नै पाउँछन्।
यसपालि दसैंअघि नै कर्मचारी र सेयरधनीलाई बोनस दक्षिणा दिन नेप्सेमा सूचीकृत कम्पनीले आगामी कात्तिक २ सम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ।
कम्पनीले प्रस्ताव गरेको नगद लाभांश नियामक निकायबाट पारित भए दसैंअगाडि नै अग्रिमरूपमा केही रकम भुक्तानी दिने चलन बढ्दै गएको देखिन्छ। कर्मचारी र लगानीकर्तालाई खर्च दिने उद्देश्यसाथ ती कम्पनीले दसैंअगाडि नै साधारणसभा डाकेका हुन्।
कम्पनी ऐनअनुसार कुनै पनि कम्पनी तथा संघसंस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। साधारण सभाबाट पारित भएपछि मात्रै सम्बन्धित आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई बोनस र सेयरधनीलाई प्रतिफल दिन कम्पनीले पाउँछन्।
कम्पनीको आन्तरिक नीतिअनुसार छुट्ट्याइएको बोनसको केही प्रतिशत आर्थिक वर्ष समाप्त भएपछि, दसैंमा केही प्रतिशत र साधारणसभापछि बाँकी सबै दिने गरिन्छ भने केही कम्पनीले साधारणसभा समाप्त भएपछि एकैपटक दिन्छन्।
पाँच वाणिज्य बैंकको दसैंअघि लाभांश र कर्मचारी बोनस
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई ५.७ प्रतिशत नगद र ९ प्रतिशत बोनस सेयर दिन लागेको हो। कर्मचारीलाई ४१ करोड १९ लाख रुपैयाँ बोनस दिँदैछ।
त्यस्तै एभरेस्ट बैंकले कर्मचारीलाई ५२ करोड ३८ लाख रुपैयाँ बोनस र सेयरधनीलाई १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिन लागेको हो।
एनआइसी एसिया बैंकले कर्मचारीलाई ७१ करोड ९७ लाख रुपैयाँ बोनस छुट्ट्याएको छ। बैंकले लगानीकर्ताका लागि २९ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
त्यसैगरी सिटिजन्स बैंकले सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले कर्मचारीलाई ३३ करोड ४८ लाख रुपैयाँ बोनस पनि छुट्ट्याइसकेको छ।
माछापुच्छ्रे्र बैंकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश तथा कर्मचारीलाई २९ करोड ४७ लाख रुपैयाँ बोनस दिने भएको छ।
लघुवित्त
नेस्डो समृद्धि लघुवित्तले सेयरधनीलाई १७.९३ प्रतिशत नगद लाभांश र कर्मचारीलाई १० प्रतिशत बोनस दिँदैछ।
होटल
आरिएन्टल होटलले असोज २५ मा २६औं वार्षिक साधारणसभा डाकेको छ। होटलले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश र कर्मचारीलाई १० प्रतिशत बोनस दिने छ।