काठमाडौं। अध्ययन गर्दा फाइलमा केही कैफियत नदेखिएपछि राजस्व अनुसन्धान विभागले व्यवसायीका व्यक्तिगत खातातर्फ आँखा लगाउन थालेका छन्।
कम्पनीको सम्पूर्ण विवरण अध्ययन गर्दा कर छली गरेको नभेटिएपछि अनुसन्धान अधिकृतहरूले व्यवसायीको व्यक्तिगत खाता माग्न थालेका छन्।
अनुसन्धान अधिकृतले कम्पनीमाथि अनुसन्धान गर्दा ‘अदृष्य लाभ’ नपाउने देखेपछि व्यक्तिगत खाता मागेर व्यवसायीलाई दुःख दिन थालेको पीडित व्यवसायीले गुनासो गरेका छन्।
अहिले राजस्वका अधिकारीले व्यवसायीसँग खुलेयाम ‘बार्गेनिङ’ गरिरहेका छन्। अर्थतन्त्र गम्भीर समस्यातर्फ धकेलिएर व्यवसायीलाई खर्चसमेत निकाल्न धौधौ भइरहेका बेला राजस्व अनुसन्धानका अधिकारीले व्यवसायीलाई दुःख दिइरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतका कार्यालयले व्यवसायीलाई अनावश्यक दुख दिने, असुली धन्दा चलाउने, व्यवसायीलाई तर्साउने काम गरिरहेका छन्।
व्यावसायिक वातावरण सुधार्न, आर्थिक गतिविधि चलायनमान गराउन भूमिका खेल्न छाडेर व्यवसायीलाई व्यवसायबाट पलायन गराउने कार्य भइरहेको छ।
अहिले राजस्व अनुसन्धान विभाग परिसरभित्र नियन्त्रणमा लिइएका गाडी खचाखच छ। गाडी नियन्त्रणमा लिएपछि व्यवसायीलाई बोलाउने र बार्गेनिङ गरिरहेका छन्।
व्यवसायीले कम्पनीको सम्पूर्ण विवरण अनुसन्धान अधिकृतलाई दाखिला गर्ने र अनुसन्धान अधिकृतले कम्पनीमा कुनै पनि कैफियत फेला नपारेपछि व्यक्तिगत खाता मागेर तर्साउन खोजेका हुन्।
‘हाम्रो कार्यालयमा तपाईंको फाइल आइपुगेपछि त्यत्तिकै छाड्न सकिँदैन। माथिबाटै तपाईंको फाइल नियन्त्रणमा लिन निर्देशन आएको हो, त्यहीअनुसार अनुसन्धान गरियो, केही देखिएन तर पनि उन्मुक्ति दिन मिल्दैन,’ एक अनुसन्धान अधिकृतको भनाइ उद्धृत गर्दै पीडित व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘हाम्रो कम्पनी क्लिन हुँदाहुँदै अनुसन्धान अधिकृतले छाड्दैनन्, व्यक्तिगत खाता माग्नु भनेको अदृष्य लाभ खोज्नु हो।’
अहिले राजस्व अनुसन्धानले दर्जनौं कम्पनीका सञ्चालकको व्यक्तिगत खाता विवरण मागिरहेका छन्। कम्पनीले कुनै किसिमको खराबी नदेखिएपछि उनीहरूले व्यक्तिगत विवरण मागेर दुःख दिइरहेका छन्।
राजस्व अनुसन्धान विभाग मुलुकको राजस्व प्रशासन सुधार गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न स्थापना भएको हो। तर, विभागलाई राजस्व सुधार गर्नेभन्दा पनि आफूअनुकूलका व्यक्तिलाई सुविधा दिन वा मन नपरेकालाई सिध्याउने राजनीतिक हतियार बनाइएको विभागका एक पूर्वमहानिर्देशक बताउँछन्।
राजनीतिक आशिर्वाद पाउने व्यक्तिमात्रै विभागको महानिर्देशक भएर जाने परम्परा बसेको छ। प्रधानमन्त्री स्वयंको निजी सचिव भएर काम गर्दागर्दै विभागको महानिर्देशकमा सरुवा पाएका नवराज ढुंगाना त्यसको सबैभन्दा गतिलो उदाहरण भएको ती पूर्वमहानिर्देशकको भनाइ छ।
राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले आफूअनुकूल प्रयोग गर्ने संस्थाका रूपमा विकास गरेको उनले बताए।
विभागको नेतृत्व आफूअनुकूल भयो भने मन नपरेका व्यापारीलाई बदला लिन पनि सजिलो हुने रहेछ, आफूलाई मन परेकालाई बचाउन पनि सजिलो हुने व्यवसायीहरुको आरोप छ।