काठमाडौं। बेलायतको लन्डनबाट चाँडै उडान सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ ले नेपाल र भुटानका लागि जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ।
जेनिथले विगतमा कतार एयरवेज र टर्किस एयरलाइन्सको जिएसए भएर लामो समय काम गरेको थियो। यसका सञ्चालक जोय देवान हुन्।
हिमालयको जिएसए बन्न क्याथे प्यासिफि एयरवेजको नेपालस्थित जिएसए अमरावती ट्राभल्स, इमिरेट्स एयरलाइन्स र फ्लाई दुबईको जिएसउ युनिभर्सल ट्राभल्स, सोल्टी होटल ग्रुपको स्ट्रिमलाइन, खेतान ग्रुप र आइएमई ग्रुपले पनि आवेदन हालेका थिए।
हिमालयले तीमध्येबाट युरोपका रुट र कार्गोका लागि छुट्टै जिएसए चयन गर्ने जनाएको छ।
नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालन गर्न लागेको हिमालय जेटले कम्पनीको ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (९६ अर्ब ६४ करोड रुपैयाँ) बराबरको समझदारी गरिसकेको छ।
हिमालय जेटको मूल्यांकन १ अर्ब ६० करोड पाउन्ड (२ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) बराबर छ।
गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर सन् २०२३ तेस्रो त्रैमासबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।
लन्डनबाट चाँडै सञ्चालन हुन लागेको हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्न लागेको हो।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
कम्पनीले लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट सिधा काठमाडौं उडान गर्ने र यहाँबाट पनि ती गन्तव्यका लागि सिधा उडान गर्ने जनाएको छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो। हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।
गुरुङले २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासका लागि नियमित व्यावसायिक उडान गर्ने तयारी भए पनि यो वर्षभित्र नेपालका लागि सिधा चार्टर उडानसँगै विश्वका ३३ प्रमुख सहरमा पनि उडान सञ्चालन गरिने जनाएका छन्।
गुरुङ विश्व सुन्दरी प्रतियोगिताका सहआयोजक पनि हुन्। गुरुङले विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ देखि लक्जरी होटलहरू पनि सञ्चालन गर्दै आएका छन्।