काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत क्षेत्रका कम्पनीलाई पुँजीबजार प्रवेशदेखि सेयर बिक्रीसम्ममा कडाइ गर्ने भएको छ।
सेबाेनले नयाँ कम्पनीलाई साधारण सेयर (आइपिओ) र पुराना कम्पनीलाई हकप्रद सेयर जारी र संस्थापक सेयर बिक्रीमा कडाइ नीति अवलम्बन गर्न लागेको हो।
जसका लागि सेबाेनको उच्च व्यवस्थापन समितिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीसँग छलफल तथा सम्झौतासमेत गरेको छ।
जलविद्युतको प्रारम्भिक निष्कासन थप व्यवस्थित तथा पारदर्शी बनाउने इप्पानसँग छलफल गरिएको सेबाेनका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन्।
इप्पानबीच भएको छलफलकै आधारमा नयाँ व्यवस्था आउने निश्चित सेबाेनले गरिसकेको छ। जसअनुसार अब जलविद्युत कम्पनीले आइपिओ जारी गर्न ६५ प्रतिशतसम्म भौतिक पूर्वाधारको काम पूरा गरेको हुनुपर्ने छ। आइपिओ जारी गर्ने कम्पनीको ‘इन्टर्नल रेट अफ रिटर्न’ (आइआरआर) १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने छ।
इप्पानसँगको छलफलको निष्कर्षअनुसार सेबाेनले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा व्यवस्था थप गरिने प्रवक्ता श्रेष्ठले बताए। पुँजीबजार आउने जलविद्युत कम्पनीलाई थप पारदर्शी र परिस्कृत बनाउन पुरानो व्यवस्थामा थप कडाइ गर्न लागिएको उनको भनाइ छ।
‘लगानीकर्तासँगै अन्य सरोकारवालाका मागअनुसार नै पुँजीबजारमा विश्वसनीय कम्पनी आउन र भएका कम्पनीमा आउने र पुराना कम्पनीमा थप पारदर्शी र परिष्कृत होस् भनेर नयाँ व्यवस्था गर्न लागिएको हो,’ सेबोन प्रवक्ता श्रेष्ठ क्यापिटल नेपालसँग भने, ‘इप्पानसँग छलफल गरेर आएको निष्कर्षका बुँदा समेटेर नै नियमावलीमा थप व्यवस्था गरिने छ।’
जलविद्युत क्षेत्रका लगानीकर्ताको लगानी सुरक्षण गर्न सेबाेनले नयाँ व्यवस्था गर्न इप्पानसँग गत साता छलफल गरेको थियोे। सोहीअनुसार सेबाेन नियमावली तथा निर्देशिका संशोधन, परिमार्जन तथा थप व्यवस्थाको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए।
यस्तै सेबोनले गर्न लागेको नयाँ व्यवस्थाअनुसार पुराना जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्नुपर्दा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नरहेको हुनुपर्ने छ। तर, यो व्यवस्था आगामी दिनमा सेबोनमा दर्ता हुने कम्पनीका हकमा मात्र लागू गर्ने तयारी उसको छ।
सूचीकृत जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने भए आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन भइसकेको हुनुपर्ने छ।
जलविद्युत कम्पनीका आइपिओ निष्कासनमा सेबोनले गर्ने नयाँ व्यवस्था यस्ता छन् :
१. जलविद्युत कम्पनीले आफ्नो उद्देश्यअनुसारका काम गर्न आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तीमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रक्रिया अगाडि बढाउन सक्ने
२. जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेस गरेपछि मात्र सेबोनबाट अन्तिम स्वीकृति प्रदान गरिने
३. जलविद्युत कम्पनीले प्रारम्भिक निष्कासनबाट प्राप्त गर्ने पुँजी बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालू परियोजना सम्पन्न गर्नमात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिबद्धता पेस गर्नुपर्ने
४. जलविद्युत कम्पनीको परियोजनाको इन्टर्नल रेट अफ रिटर्न (आइआरआर) १२ प्रतिशतभन्दा वढी भएको हुनुपर्ने
हकप्रद जारी गर्न जल विद्युत कम्पनीलाई यस्ता छन् नयाँ व्यवस्था :
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रही कारोबार भइरहेकोमा जलविद्युत कम्पनीले निष्कासन गर्ने हकप्रद सेयर निष्कासनलाई व्यवस्थित गर्न सेबोन उल्लेखित व्यवस्था थप गर्ने लागेको छ।
१. कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नरहेको हुनुपर्ने तर यो व्यवस्था आगामी दिनमा सेबोनमा दर्ता हुने कम्पनीका हकमा मात्र लागू गर्ने। साथै, बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीका हकमा लागू नहुने व्यवस्था गर्ने
२. सूचीकृत जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने भए आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन (कमर्सियल अप्रेसन) भइसकेको हुनुपर्ने
३. जलविद्युत कम्पनीले प्रारम्भिक निष्कासनका बेला परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्नुपर्ने अवस्था भए हालको व्यवस्था लागू हुने
४. हकप्रद सेयर निष्कासन गर्दा नयाँ परियोजनाका लागि आवश्यक हुने रकम दुईपटकमा उठाउन सक्ने व्यवस्था गर्ने
जलविद्युत कम्पनीको संस्थापक सेयर बिक्रीमा नयाँ व्यवस्था यस्ता छन् :
सूचीकृत जलविद्युत कम्पनीको संस्थापक सेयरको ‘लकइन’ पछि बिक्री गर्ने व्यवस्थासम्बन्धमा लगानीकर्ताबाट गुनासो प्राप्त भएका सन्र्दभमा उक्त कार्यलाई पारदर्शी बनाउन देहायअनुरूप व्यवस्था गर्ने :
१. बोर्डबाट तोकिएका स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था सूचीकृत कम्पनीले पूर्णरूपमा पालना गर्नुपर्ने
२. जलविद्युत कम्पनीको नियमावलीको व्यवस्थाअनुरूप लकइन अवधि सकिएपछि संस्थापकका रूपमा रहेका सेयरधनीले सेयर बिक्री गर्न कम्पनीले अनिवार्य विद्युतको व्यापारिक उत्पादन (कमर्सियल अप्रेसन) गरेको हुनुपर्ने
३. उपर्युक्तअनुसार सेयर बिक्री गरेपछि हुने सञ्चालक समिति परिवर्तनसम्बन्धमा जलविद्युत कम्पनीको सञ्चालक समितिबाट निर्णय गरी कम्पनीको आगामी साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने र त्यसको जानकारी सेबोनमा समेत गराउनुपर्ने
४. जलविद्युत कम्पनीको संस्थापक समूहलगायत आधारभूत सेयरधनीले ग्रहण गरेको सेयरको लकइन अवधि खुलेको सम्बन्धी जानकारी सेबोन तथा धितोपत्र बजारलाई दिनुपर्ने तथा त्यससम्बन्धी जानकारी सम्बन्धित कम्पनीको वेबसाइट तथा कम्तीमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी लगानीकर्तालाई समेत जानकारी दिनुपर्ने छ। साथै, कम्पनीले सूचना प्रकाशन गरेको १५ दिनपछि मात्र सेयर कारोबार सुरु गर्न सकिने
५. सूचीकृत कम्पनीको संस्थागत सुशासन अवस्था थप सुदृढ बनाउन प्रचलित कानुनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिका सशक्त र प्रभावकारी बनाउन सेबोनबाट स्वतन्त्र सञ्चालकको योग्यतासहित रोस्टर तयार गर्ने साथै स्वतन्त्र सञ्चालकबाट पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरणलगायत आवश्यक कुरा तोकिदिने व्यवस्था पूर्णरूपमा पालना भएको हुनुपर्ने