काठमाडौं। बागलुङ वालिङ नगरपालिकामा बसपार्क निर्माण गर्न नगर विकास कोषले अनुदान एवं ऋण सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ।
कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यवस्थित बसपार्क निर्माणका लागि नगरपालिका र नगर विकास कोषबीच असोज ८ मा ऋण तथा अनुदान सम्झौता भएको हो।
आयोजनाको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजार रुपैयाँ छ। जसमध्ये कुल लागतको ५५ प्रतिशत अर्थात् ६ करोड ७५ लाख १६ हजार ३५० रुपैयाँ ऋण र १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ अर्थात १० प्रतिशत रकम भने कोषले अनुदान दिने सम्झौता भएको हो।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगर प्रमुख कृष्ण खाणबीच बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
बसपार्क निर्माणको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजारको ३५ प्रतिशतले हुन आउने रकम ४ करोड २९ लाख ६४ हजार ९ सय ५० रुपैयाँ रकम नगरपालिकाले बेहोर्ने छ।
वालिङ नगरपालिकाका–८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारीसाधन व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना मानिएको छ।
कार्यक्रममा नगरपालिका प्रमुख खाणले बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने बताएका छन्।
ऋण सम्झौताको चरणसम्म आइपुग्दा कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकास चरणदेखि नै नगरपालिकासँग सहकार्य भएको कोषका कार्यकारी निर्देशक सापकोटाले बताए।
सम्झौता कार्यक्रमा कोषका तर्फबाट नगर विकास कोष सञ्चालक समितिका सदस्य हिक्मतजंग कार्की तथा कोषका पदाधिकारी र नगरपालिका उपप्रमुख कविता गैरे, वडा नम्बर १ का अध्यक्ष पदम गुरुङ, वडा नम्बर १० अध्यक्ष सुनिल खनाल र वालिङ नगरपालिकाका इन्जिनियर धु्रव रेग्मी उपस्थित थिए।