काठमाडौं। एचआर गोयल ग्रुपले सञ्चालन गरिरहेको सप्तकोसी सिमेन्ट प्रालिको व्यापार ३१ प्रतिशत बढेको छ। उद्योगले सन् २०२३ मा सिमेन्ट बेचेर २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
सप्तकोसीले २०२२ मा १ अर्ब ७९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। यस्तै २०२१ मा सिमेन्ट बिक्रीबाट २ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
२०१९ मा उद्योगले १ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। उद्योगको सिमेन्ट व्यापार बढ्दै गएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। वित्तीय विवरण हेर्दा कोरोना महामारीपछि सप्तकोसी सिमेन्टको व्यापार उकालो लागेको छ ।
सप्तकोसीले १ अर्ब १२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
१९९६ मा मोरङ कटहरीमा स्थापना भएको उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ६ सय टन छ। उद्योगमा दुइटा सिमेन्ट प्लान्ट छ। जसमा एउटाले ५ सय र अर्कोले दैनिक १ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ।
उद्योगले २०१८ देखि व्यावसायिकरूपमा दोस्रो प्लान्टबाट सिमेन्ट उत्पादन थालेको हो। उद्योगले सप्तकोसी र नेसनल ब्रान्डमा ओपिसी र पिसिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
सप्तकोसीले स्वदेशी उद्योगबाट सिमेन्ट उत्पादनको कच्चा वस्तु क्लिंकर खरिद गर्दै आएको छ। कुल आम्दानीको ८३ प्रतिशत खर्च कच्चा वस्तु खरिदमा हुने गरेको सप्तकोसीले जनाएको छ।
कारखाना विराटनगर नजिक भएकाले उद्योगले सिमेन्टको बजार पूर्वमा नै केन्द्रित गरेको छ। उद्योग मेची, कोसी, सगरमाथा र जनकपुरमा सिमेन्ट बिक्रीमा केन्द्रित रहेकाे जनाएको छ।
नेसनल सिमेन्टको नामबाट २४ वर्षअघि स्थापना भएको उद्योगले ग्राइन्डिङ मेसिनबाट दैनिक १ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो। २०१८ पछि मात्र उद्योगले क्षमता विस्तार गरेर दैनिक ६ सय टन पुर्याएको हो।
ग्रुप सिमेन्ट, केमिकल, जलविद्युत, बिमा, व्यापार र निर्माण व्यवसायमा संलग्न छ। सिमेन्ट उद्योगमा ग्रुपको २४ वर्ष लामो अनुभव छ। उद्योगको अध्यक्षमा आशिष गोयल छन्।
नेपालमा जलविद्युत, सडक, विमानस्थल र पर्यटनलगायत अन्य पूर्वाधार निर्माणले गति लिएको छ। नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भइरहेको छ। भारतमा सिमेन्ट निर्यात हुन थालेको छ।