काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले नेपालभरि युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्धनमा दुई दशक समर्पित सेवाको अवसरमा २० औं वार्षिकोत्सव मनाएको छ।
२००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्धमी गौरव अग्रवालको अध्यक्षतामा पाँच युवा उद्यमीसहित सुरु भएको नेपाली युवा उद्यमी मञ्चले २० वर्ष पार गरी २१ वर्षमा प्रवेश गरेकोमा खुसी साटासाट गरेको हो।
मञ्चले निरन्तररूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली युवा उद्यमी मञ्चले उद्यमीहरुलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ।
२० वर्षको यात्रामा एनवाइइएफको मुख्य उपलब्धि
युवा सशक्तिकरण : नेपाली युवा उद्यमी मञ्च अनगिन्ती युवा उद्यमीहरूलाई सशक्तिकरण गर्न, मार्गदर्शन दिन, स्रोत र नेटवर्किङका अवसरहरू प्रदान गर्नका साथै उनीहरूका नवीन विचारलाई सफल उद्यमहरूमा परिणत गर्न मद्दत गर्न अग्रपङ्क्तिमा रहेको छ।
नीति एड्भोकेसी : नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरूका लागि निरन्तर आवाजको रूपमा रहेको छ, जसले उद्यमशीलता र आर्थिक वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरी, नीति सुधारको वकालत गर्दै आएको छ।
मेन्टरसीप कार्यक्रम : मञ्चले उद्यमशीलता सिक्न इच्छुक विद्यार्थीसँग अनुभवी व्यवसायीहरूलाई जोड्दै धेरै मेन्टरसीप कार्यक्रमहरू आयोजना गरेको छ।
च्याप्टर विस्तार : नेपाली युवा उद्यमी मञ्चले नेपालभरि आफ्नो च्याप्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशमा हालै स्थापना भएको १३औं नेपालगन्ज च्याप्टरसहित सबै सात प्रदेशमा च्याप्टरहरू स्थापना गरेको छ।
उद्यमशीलाता शिक्षा : मञ्चले लिडर्स प्रोजेक्ट, उद्यमशीलता बुटक्याम्प, युवा उद्यमशीलता सम्मेलन तथा युवा उद्यमशीलता सम्मेलन–महिला जस्ता विभिन्न कार्यक्रममार्फत उद्यमशीलता शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
मेड इन नेपाल अभियान : मञ्चले २००६ देखि ‘मेड इन नेपाल’ अभियानलाई गर्वका साथ मनाउँदै आएको छ, जसको मुख्य उद्देश्य स्थानीय उद्यमशीलता र उत्पादनहरूलाई प्रवर्द्धन र समर्थन गर्ने, उपभोक्ताहरूलाई स्वदेशी उत्पादन उपभोग गर्न र समर्थन गर्न प्रोत्साहित गर्ने रहेको छ।
नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले २० वर्षको अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने मञ्चकाे प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर रहेको बताइन्।
मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरिका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ।