काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बेइजिङमा भेटवार्ता भए पनि एउटा विषयका कारण दुवै देशले संयुक्त वक्तव्य जारी गर्न सकेका छैनन्। ।
दुवै देशले दर्जन सम्झौता रतथा समझदारीपत्रमा हस्ताक्षर भने यसअघि नै गरिसकेका छन्। चीनको लामाे समयदेखिकाे विश्वपरियोजना `बेल्ट एन्ड रोड इनिसिएटिभ´ (बिआरआईी कै विषयमा सहमति नजुटेका कारण दुवै देशकाे संयुक्त वक्तव्य आउन नसकेकाे हाे।
प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति सी र प्रधानमन्त्री छ्याङसँग भएको भेटमा समग्र अजेन्डामा छलफल भए पनि चीनकाे बिआरआई परियोजनालगायत केही अजेन्डामा नेपालीले सहमति नजनाउँदा संयुक्त वक्तव्य जारी हुन नसकेको हाे।
सम्झौता तथा समझदारीपत्रमा साेमबार हस्ताक्षर गर्नका लागि औपचारिक छलफल हुनु अघिसम्म संयुक्त वक्तव्यबारे निर्णय भएको थिएन। हस्ताक्षर भइसकेपछि नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे चीनसँग कुराकानी गरेकाे थियो ।
तर, कुरा नमिलेपछि दुवै देशका परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति निकाल्ने सहमति भएको थियो ।
त्यसपछि चीनकाे राजधानी बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री दाहालकाे साताव्यापी भ्रमणमा भएका दर्जन सम्झौता र समझदारीपत्र उल्लेख गरी विज्ञप्ति निकालिसकेकाे छ। तर, चीनकाे विदेश मन्त्रालयले हालसम्म कुनै विज्ञप्ति भने जारी गरिसकेको छैन।
चीनले बिआरआईसहि राष्ट्रपति सीले अघि सारेका ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई), ग्लोबल डेभलपपमेन्ट इनिसिएटिभ (जिडिआई) र ग्लोबल कल्चरल इनिसिएटिभ (जिसिआई) मा नेपालको सहभागिता खोजेको थियो ।
तर प्रधानमन्त्री दाहाललेे ती कुनै पनि परियाेजनामा तत्कालै सहभागी हुन नसक्ने बताएपछि कुरा नमिलेकाे हाे।
चीनले कम्तीमा बिआरआईलाई समेट्नुपर्ने र पोखरा विमानस्थललगायत केही परियोजनालाई बिआरआईमातहत राख्न नेपाललाई प्रस्ताव गरेको छ