काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। यसअन्तर्गत शनिबार र आइतबार चार खेल भएका थिए।
एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवका थिम ‘हामी तपाईंकै लागि’ अनुरूप सेभेन ए साइड फुटबल मैदानमा यी खेल आयोजना गरिएका हुन्। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटेरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडी सहभागी थिए।
गत शनिवार (असोज ६) को पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए।
यो खेलमा एनसेलले १-० को अन्तरले जित हासिल गरेको थियो। एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए।
त्यसैगरी शनिबार भएको अर्को आकर्षक खेल भेटेरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो। दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकार आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमनदास श्रेष्ठ, सन्दिप क्षत्री, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायत थिए। अनिल गुरुङको टिमले ५-४ को अन्तरले खेल जितेको थियो।
त्यस्तै आइतबार (असोज ७) मा सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४-१ को अन्तरालले जित हासिल गरेको थियो।
त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४-३ गोलको अन्तरालले खेल जितेको थियो।
‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत १८औं वार्षिकोत्सवका अवसरमा अन्य कार्यक्रम पनि आयोजना गरिनेछन्। त्यस्ता कार्यक्रममा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तक्र्रिया गर्न सेलिब्रिटीको एनसेल सेन्टरमा भ्रमणलगायत छन्।