काठमाडौं। यती एयरलाइन्स सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्मान गरेको छ।
साढे दुई दशकसम्म निरन्तर हवाई उड्डयन क्षेत्रमा योगदान दिएको भन्दै प्राधिकरणले सम्मान गरेको हो। मुलुकमा धेरै एयरलाइन्स सञ्चालन हुँदै बन्द भइरहेको अवस्थामा यतीले २५ वर्षदेखि निरन्तर उडान गरिरहेको भन्दै नियामक निकायले सम्मानसहित हौसला प्रदान गरेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताए।
लामो समयदेखि उडान गरेर रोजगारी सिर्जना गरी यतीले मुलुकमा डलर भित्र्याइ अर्थतन्त्रमा योगदान गरेको प्राधिकरणको भनाइ छ।
२०५५ सालबाट ट्विनअअटर जहाजमार्फत उडान थालेको यतीले अहिले एटिआर जहाजमार्फत सुगम र भगिनी वायुसेवा तारा एयरमार्फत दुर्गममा उडान गरिरहेको छ। यतीले पहिलो उडान काठमाडौंबाट लुक्लाका लागि गरेको थियो।
यतीका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम शेर्पाले विभिन्न आरोह ,अवरोह पार गर्दै सेवा सञ्चालन गरिरहेको बताए। अहिलेसम्म जनताकै सेवामा उडान गरिरहेको भन्दै अब जनतालाई एयरलाइन्सको मालिक बनाउन पब्लिक कम्पनी बनाउन लागेको जानकारी दिए।
२५ वर्षे इतिहासमा यतीको जहाज पहिलोपटक गत वर्ष माघ १ को दुर्घटनापछि धेरै समस्यामा परेको एकाउन्टेबल म्यानेजर अनोज रिमालको भनाइ छ। दुर्घटनापछि यात्रुमा परेको नकारात्मक असरका कारण ३ देखि ४ महिनासम्म यात्रु नै पाउन मुस्किल हुने स्थितिमा आफूहरु पुगेको उनले बताए।
जसका कारण यतीलाई धेरै समस्या परेको बताउँदै अहिले भने सहज स्थितिमा आएको र प्राधिकरणको साथले अगाडि बढ्न उत्साह मिलेको रिमालको भनाइ छ।
हवाई सुरक्षाका लागि यती सदैव तयार रहेको र प्राधिकरणसँग सधैं सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उनले प्रतिबद्धता जनाए.
प्राधिकरणको सम्मान कार्यक्रममा यती एयरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पा , निर्देशक नोर्बु शेर्पालगायत उपस्थित थिए।