काठमाडौं। चौधरी ग्रुप (सिजी) अन्तर्गत सिजी मोटर्सले चर्चित चिनियाँ ब्रान्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेसन (जिएसी) नेपाली बजार ल्याउने भएको छ।
यसका लागि आइतबार सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र ग्वान्झाओ अटोमोबाइल कर्पोरेसनका प्रतिनिधिबीच सम्झौता भएको छ।
सन् १९५४ मा स्थापना भएको जिएसी हाल चीनको पाचौं ठूलो अटोमोबाइल कम्पनी हो। जिएसीले रिसर्च एन्ड डेभलपमेन्ट, सवारीसाधन, पार्ट्स, ऊर्जा, वाणिज्य र यातायात, लगानी र वित्तलगायत क्षेत्रमा काम गरिरहेको छ। कम्पनीले २०२१ मा मात्र २१ लाख ४४ हजार युनिट गाडी बिक्री गरेको थियो।
सिजी मोटर्सले पहिलो चरणमा जिएसीका विद्युतीय गाडी (इभी) ब्रान्ड ‘एयोन’ नेपाली बजार ल्याउने तयारी गरेको छ।
जिएसीले नयाँ ऊर्जामा आफ्नै ब्रान्ड ट्रम्पची, एयोन र हाइक्यान उत्पादन गरिरहेको छ भने संयुक्त लगानीका रूपमा जिएसी–टोयोटा, जिएसी–होन्डा र जिएसी–मित्सुबिसी उत्पादन गरिरहेको छ।
यो सम्झौतासँगै सिजी मोटर्सले नेपाली इभी बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ। सिजीले हाल निटा, केवाइसी र किङलङका सवारीसाधन नेपालमा बिक्री गर्दै आइरहेको छ भने केही दिनअघि मात्रै चिनियाँ ब्रान्ड स्मार्ट मोटर्ससँग पनि सम्झौता गरेको छ।
जिएसीले २०१८ मा आफ्नो सहब्रान्डका रूपमा एयोनलाई प्रस्तुत गरेको थियो। कम्पनीले २०१९ मा निकट भविष्यमै एलएक्स, भी र वाईसहित १२ नयाँ मोडेलका गाडी ल्याउने घोषणा गरेको थियो।
जिएसीको नयाँ मोडेल ‘एयोन एस’ २०२० नोभेम्बरमा आयोजना गरिएको ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको थियो।