काठमाडौं। आउटडोर ‘क्लोदिङ‘ (कपडा) ब्रान्ड लुक्ला आउटडोरको स्टोर काठमाडौं ठमेलमा सञ्चालनमा आएको छ। तीन वर्षदेखि सञ्चालनमा आएको आउटडोरको दोस्रो स्टोरका रूपमा ठमेलमा सुरु भएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छेची शेर्पाले जानकारी दिइन्।
छोटो समयमा धेरैको मन जित्न सफल लुक्ला आउटडोरले विशेष गरी ट्रेकिङ (पदयात्रा), हाइकिङ ९छोटो दुरीको पदयात्रा० र माउन्टेनियरिङ (पर्वतारोहण) जाँदा लगाउने कपडा उत्पादन गरी बिक्री गर्दै आएको छ।
आउटडोरको यसअघि नै लुक्लामा पहिलो स्टोर सञ्चालनमा आइसकेको छ। मन्डिखाटारमा रहेको स्टोर भने बन्द गरेर ठमेलमा केन्द्रित गरी सञ्चालनमा ल्याइएको उनले बताइन्।
नयाँ उत्पादन भइरहेकाले स्टोर सञ्चालनका अवसरमा पुराना उत्पादन बिक्रीमा ५० प्रतिशत छुट घोषणा गरिएको उनको भनाइ छ।
पर्यटकीय सिजन सुरु भइसकेकाले नयाँ स्टोरमा पुराना स्टक भएका लुगा तत्काल बिक्री गर्ने र नयाँ डिजाइनको पनि तयारी भइरहेको उनले बताइन्। ठमेलपछि लुक्ला आउटडोरको अर्को स्टोर बौद्धमा सञ्चालन गर्ने तयारी छ।
ठमेलमा रहेको स्टोरसँगै क्याफेसमेत सञ्चालन गरिएको छ। खासगरी ट्रेकिङ र हिमाल आरोहणमा जान चाहनेले त्यस क्षेत्रमा कस्ता–कस्ता लुगा लगाउने भन्नेबारे जानकारी गराउने उद्देश्यसाथ क्याफेसमेत खोलिएको सिइओ शेर्पाको भनाइ छ।
लुक्ला आउटडोरमा भेन्चर क्यापिटलका रूपमा केही समय अघिदेखि वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउस (भ्वाइइथ) ले सहकार्य गरेको छ।
पर्यटक र हिमाली क्षेत्रमा लगाउने कपडा डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आटउटडोरमा वैद्यजले लगानी विस्तार गरेको हो।
बैद्यज अर्गनाइजेसनका निर्देशक सूर्यान्श वैद्यले घरेलु उत्पादन निर्यात गर्ने तयारीमा जुटेको बताए। पछिल्लो समय विदेशबाट धेरै ब्रान्डेड लुगा नेपाल आइरहेको बेला लुक्ला आउटडोरका उत्पादन विदेशमा निर्यात गरेर डलर भित्र्याउने र आयात प्रतिस्थापनमा सहयोग पुर्याउने लक्ष्यसमेत आफूहरूले राखेको उनको भनाइ छ।