काठमाडौं। ग्लोबल मोबिलिटी इनड्राइभ र एनआरएस स्पोर्ट्स फाउन्डेसनबीच ‘१५औं काठमाडौं म्याराथन’ मा सहकार्य गर्ने घोषणा भएको छ।
सहकार्यले सामुदायिक कार्यक्रम समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने इनड्राइभको प्रतिबद्धता झल्किएको उसले जनाएको छ।
एनआरएस आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी अवधिदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोर्ट्स इभेन्ट हो। यो वर्ष इनड्राइभले हातेमालो गरेको एनआरएसले जनाएको छ।
म्याराथन समर्थनबाहेक इनड्राइभले एथलिट र कोच दुवैको तालिमका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यो पहलले नेपालमा नवप्रतिभा विकास र खेलकुदको इकोसिस्टम बढावा दिन इनड्राइभको योगदान कायम राख्ने छ।
‘नेपालमा दौड संस्कृति विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दुरीका धावकलाई सहयोग गर्ने उद्देश्यले गरिएको नयाँ पहललाई समर्थन गर्न दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा खुसी छौं,’ इनड्राइभ निर्देशक रोमन एर्मोसिनले भने।
इनड्राइभका अनुसार तालिम कार्यक्रम काठमाडौं उपत्यकाका साथै थिमि, हेटौंडा, बुटवल र पोखरा हुने र भविष्यमा अन्य सहरमा विस्तार गर्ने योजनासाथ सञ्चालन भइरहेको छ। अक्टोबर १४ मा हुने काठमाडौं म्याराथनमा स्लट उपलब्ध गराएर,तथा युवा र अल्पसंख्याक धावकलाई अगाडि बढाउन ३ सयभन्दा बढी खेलाडीलाई सहयोग गरिएको छ।
काठमाडौं म्याराथन असोज २७ मा दशरथ रंगशालामा सुरु हुँदैछ। सहभागीले फुल म्याराथन, हाफ म्याराथन र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीमा सहभागिता जनाउन सक्नेछन्।