काठमाडौं। आगामी १२ वर्षमा नेपालमा प्रतिव्यक्ति ऊर्जा खपत ५ गुणा वृद्धि हुने प्रक्षेपण गरिएको छ।
आगामी सन् २०३५ सम्म नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत १ हजार ५ सय युनिट पुग्ने सरकारी प्रक्षेपण रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले गठन गरेको समितिले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० ले १२ वर्षमा ऊर्जा खपत १ हजार १ सय २० युनिट बढाउन सकिने प्रतिवेदन दिएको छ। हालसम्म प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक ३ सय ८० युनिट छ।
हाल विद्युत जडित क्षमता २ हजार ८ सय मेगावाट छ। १२ वर्षपछि झन्डै १३ गुणा बढेर २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन हुने प्रतिवेदमा उल्लेख छ।
अहिले भारतमा विद्युत निर्यात बढेर २०३५ मा १५ हजार मेगावाट पुग्ने अनुमान छ। हाल भारतमा ६ सय ३२ मेगावाट विद्युत निर्यात भएको छ।
समितिले बुझाएको प्रतिवेदनले ९८ प्रतिशत रहेको विद्युत पहुँच २०३५ सम्म सतप्रतिशत पुर्याउन सकिने देखाइएको छ।
२०३५ सम्म लक्ष्यित विद्युत योजना कार्यान्वनका लागि ४६ अर्ब डलर ९करिब ५५ खर्ब रुपैयाँ० लाग्ने देखिएको छ। त्यसमा सबैभन्दा बढी निजी लगानी आवश्यक पर्ने प्रतिवेदनले औंल्याएको छ। यसबीचमा बंगलादेशले पनि २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने बताएको छ।
त्यस्तै प्रसारण प्रणाली ५ हजार ७ सय ४२ किलोमिटरबाट बढेर १७ हजार ४ सय ४६ किलोमिटर र सबस्टेसन ८ हजार ८ सय ६७ एमभिएबाट ४० हजार एमभिए पुर्याउन सकिने छ। नेपालमा हाल वार्षिक विद्युत खपत सरदर १२ हजार गिगावाट रहेकामा १२ वर्षपछि ४० हजार ७ सय १० पुग्ने छ।
यद्यपि, उक्त लक्ष्य पूरा गर्न कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका कार्यक्रम, ऊर्जा उत्पादनसम्बन्धी कार्यक्रम जनशक्ति एवं वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।
साथै, विद्युत व्यापारसम्बन्धी कार्यक्रम, प्रसारण वितरण प्रणाली र भौतिक पूर्वाधार विकासका कार्यक्रम, ऊर्जा माग र आपूर्ति व्यवस्थापनसम्बन्धी कार्यक्रम पनि सरकारले चलाउन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।
गत असार २६ मा ऊर्जा मन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सन्दिपकुमार देवसहित १२ सदस्यीय समिति गठन गरेको थियो। समितिमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभागका इन्जिनियर सदस्य थिए।