बेइजिङ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएको भन्दै अझ बढी चिनियाँ लगानीको अपेक्षा रहेको बताए।
आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटमा उनले चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएको बताए। नेपालले कुल आयातको १६ प्रतिशत चीनबाट गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालबाट चीनतर्फको निर्यात कम भएकाले यसलाई बढाउनपर्नेमा जोड दिए।
'नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरूले उच्च प्रतिफल लिइरहेका छन्,' उनले भने, ‘नेपाल विदेशी लगानी भित्र्याउन र प्रविधि हस्तान्तरणका लागि तयार छ।’ उनले यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति भएको, दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पर्यटकीय गन्तव्य सञ्चालनमा आएको भन्दै लगानीको सम्भावना बढेर गएको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक लगानीकर्तालाई लक्षित गरी एकद्वार प्रणालीमार्फत वैदेशिक लगानी ल्याउनका लागि एफडिआई हेल्प डेस्क स्थापना गरेको समेत जानकारी गराए। उनले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै लगानीका लागि आग्रह गरे।
त्यस अवसरमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघका प्रत्यक्ष वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो भएको उल्लेख गर्दै नेपालमा युवा उद्यमशीलता समेत बढेको बताए। उनले नेपालमा भएको युवा जनशक्तिको पूर्ण उपयोग गरी लाभ लिन चिनियाँ लगानीकर्ता समक्ष आग्रह गरे।