काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालय प्रमुखलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन्।
नेपाल बिमा प्राधिकरणबाट बिहीबार वीरगन्जमा आयोजित बिमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
‘बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानुन, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरूपमा पालना गर्नुपर्छ, कानुन, नियम, निर्देशिका विपरित कार्य गरेमा अबको कारबाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला’ अध्यक्ष सिलवालले भने।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बिमा निर्जीवन बिमामा मात्र नभई जीवन बिमामा समेत पाइएको उल्लेख गर्दै उधारो बिमा नगर्न र बिमितिको विश्वास जित्ने गरी काम गर्न बिमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखलाई निर्देशन दिए।
कार्यक्रममा बिमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिले बिमा अभिकर्ता एक बिमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बिमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बिमादर रहेको गुनासो रहेको, जीवन बिमालेखबाट बिमामा कर्जा लिन कठिन भएको, लघुबिमामा टिकट दस्तुर बढी भएको, लघु बिमामा नयाँ बिमालेखको अभाव देखिएको लगायतका धारणा राखेका थिए।