काठमाडौं। चौधरी ग्रुप (सिजी) ले ‘स्मार्ट मोटर्स’ का विद्युतीय सवारीसाधन (इभी) नेपाली बजार ल्याउने भएको छ।
सिजी मोटर्सले स्मार्ट मोटर्स इभीसँग सहकार्य गर्न लागेको सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए।
स्मार्ट र सिजी मोटर्सबीच शनिबार चीनको हाङ्जाउमा व्यापार सहयोग सम्झौता भएको छ। स्मार्ट मोटर्स जर्मनीको प्रसिद्ध अटो कम्पनी मर्सिडिज बेन्जको संयुक्त लगानीको कम्पनी हो।
सिजीले स्मार्ट #१ (ह्यास ट्याग १) को पहिलो ब्याच चाँडै नेपाली बजार ल्याउने तयारी गरेको छ। ‘चीन–युरोपियन डुअल कोर, स्मार्टले विश्वव्यापीरूपमा बजार बिस्तार गरिरहेको छ।
हाल स्मार्ट मोटर्सले स्थानीय बजारमा १ सय ६४ वटा आफ्ना छुट्टै सेल्स सर्भिस नेटवर्क बनाएको छ भने यो वर्ष अन्त्यसम्म २ सय पुर्याउने लक्ष्य राखेको छ।
स्मार्टले आफ्ना साझेदारहरूसगँको सहकार्यमा १३ युरोपेली देशका बजारमा लगभग ३ सयवटा बिक्री र सेवा आउटलेट स्थापना गरेको छ।दक्षिणपूर्वी एसियाली बजारको कुरा गर्दा स्मार्ट #१ यो वर्षको चौथो त्रैमासमा मलेसियाली बजारमा डेलिभरी हुने अपेक्षा गरिएको छ।
सन् २०२३ सेप्टेम्बर १९ मा स्मार्ट र प्रोटोन मोटर्सले स्रोत र साधनमा सहकार्य गर्ने समझदारी गरेका थिए। भविष्यमा स्मार्टले थाइल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, सिंगापुरलगायत देशका बजारमा व्यापार विस्तार गर्ने योजना बनाएको छ।
यो सम्झौतासँगै सिजी मोर्टसले तीनथान विद्युतीय ब्रान्ड बजार ल्याउने भएको छ। सिजीले हाल निटा, केवाइसी र किङलङका सवारीसाधन नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
पहिलोपटक सन् १९९८ मा पहिलो फोर्ट टु मोडेल बजार ल्याएको स्मार्ट मोटर्सले १९९९ मा बारबससँग सहकार्य गरेको थियो। त्यसैगरी २०१९ मा स्मार्टले इभीको बजार विस्तार गर्न गिली र मर्सिडिज बेन्जसँग सहकार्य गरेको थियो।
स्मार्टले २०२३ मा #१ युरोपेली बजारमा डेलिभरी सुरु गरेको थियो भने #३ लाई सांघाई अटो शोमा सार्वजनिक गरेको थियो। स्मार्टले २०२४ मा नयाँ उत्पादन #३ युरोपेली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।