काठमाडौं। रत्नवीर सिहं कंसाकारले करिब ७५ वर्षअघि सुरु गरेको नेपाली कापः अहिले पनि सञ्चालनमा छ। रत्नवीरका छोरा बुद्धिवीरले पनि दिएको निरन्तरतालाई नाति प्रबोध कसाः ले पनि जारी राखेका छन्।
अर्थात, नेपाली कापः को व्यवसाय तीन पुस्तादेखि निरन्तर अघि बढिरहेको छ। पुराना कुरा संरक्षण गर्दै नयाँ पुस्तालाई सीप सिकाइ स्वदेशी उत्पादनले आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यताले पुरानो व्यवसायलाई निरन्तरता दिएको नेपाली कापः का सञ्चालक कसाः बताउँछन्।
‘कहिलेदेखि पसल सुरु भयो भन्ने यकिन मिति थाहा नभए पनि ७५/७६ वर्षअघि तानमा बुनेका कपडा बिक्री गर्ने सोचसाथ पसल सुरु भएको बुझ्न सकिन्छ,’ कसाः भन्छन्। इन्द्रचोक नजिकै केलटोल, भेडासिङमा रहेको ‘नेपाली कापः पसल’ मा खद्दर, सूति, टेलिकटन, कटनका लुगा पाइन्छन्।
धेरै वर्षअघिसम्म नेपाली कपडा तानमा बुनेर तयार गरेको दृष्य देख्न सकिन्थ्यो। गाउँ–गाउँमा तानमा लुगा बनाउने भेटिन्थे। काठमाडौंमा मात्रै होइन मुलुकका धेरै ठाउँबाट पुरानो प्रविधिमा लुगा बनाउने काम बन्द भइसकेको छ।
यद्यपि, तानमा लुगा बनाउने चलन अझै पनि भक्तपुर तथा कीर्तिपुरका केही ठाउँ र हिमाली जिल्लातिर यदाकदा देख्न पाइन्छ। तर, यसरी उत्पादित कपडा अहिलेको पुस्ताले लगाउने सम्भावना भने हराउँदै गएको छ।
कुनै बेला यस्तो थियो कि पोलिस्टरको पातलो कपडा लगाउँदा हिरो भनिन्थ्यो। नेपाली खद्दर छाडेर पोलिस्टरको लुगा लगाउँदा रमाइलो हुन्थ्यो। नयाँ फेसन र डिजाइनमा नेपाली उत्पादन चल्न नसक्दा घरेलु उत्पादनका कपडा लोप हुँदै गएको छ। टेलिकटन र पोलिस्टरको लुगामा डिजाइन र रङ थरिथरी बनाउन मिले पनि नेपाली कपडामा रातो, हरियो, निलो र कालो गरी ३÷४ रङमात्रै दिन सकिन्छ।
नेपाली कापः पसलमा नेपालीसँगै विदेशी लुगा पनि पाइन्छ। नेपालमा बनेका र नेपाली लुगाको उत्पादन र बिक्री पनि निरन्तर छ। नेपालमा पहिलेदेखि प्रयोगमा आएका सबै कपडा नेपाली कापः पसलमा पाइन्छ। यद्यपि, पहिलाको जस्तो एउटा सामान थरिथरीको रङ र डिजाइनमा भने छैन।
धागो, मेसिन, रङ सबै विदेशबाटै आयात गरेर बनाएपछि नेपालमा कपडा भनेर गर्व गर्न सक्ने अवस्था छैन। हाते तान विकास गरेर नेपालले आफ्नै मेसिन बनाएको भए आफ्नो सीप भन्न पाइन्थ्यो होला।
५० वर्षअघि सूति कपडा बनाउने मेसिन नेपाल भित्रिएसँगै अन्य आधुनिक मेसिन पनि आउन थाले र पुरानो प्रकृतिका कपडा उत्पादन कमजोर हुँदै गयो।
नेपालका जातजातिअनुसार फरक–फरक सीप रहेको तर त्यसको विकासमा राज्यले ध्यान नदिँदा समस्या भएको भनेर बेलाबेला सार्वजनिकरूपमा आवाज पनि उठ्ने गर्छ। तर, त्यसप्रति कसैले चासो दिएको पाइँदैन। जसले गर्दा तानमार्फत लुगा बनाउने काम ओझेलमा परेको छ।
तानमा दुई/तीन पोका धागो राखेर काम हुन्छ भने मेसिनमा २०/३० पोका एकैपटक राखेर काम गर्न सकिन्छ। यसले काम छिटोछरितो हुन्छ। एक पोकामा चार किलोभन्दा बढी धागो हुन्छ।
घरेलु उत्पादन भन्नेबित्तिकै सूति अर्थात कटन भनेर बुझ्नुपर्नेमा अधिकांशको बुझाइ सूति, कटन र टेलिकटन भन्ने छ। टेलिकटन कपडा अलिक दह्रो र छुट्टै हुन्छ।
नेपाली कपडा उत्पादनको प्रमुख स्रोत कृषि र वनपैदावर हो। मुख्य कच्चापदार्थ भने कपास हो। कृषि पेसाबाट धेरै मानिस पलायन हुँदै जान थालेकाले पनि कपडाका लागि आवश्यक कच्चापदार्थ उत्पादन हुन छाडेको छ। पहिला कृषिमा आधारित व्यक्तिले खेतीबालीको काम सकेर फुर्सदमा विभिन्न सीप सिक्ने गर्थे।
अहिले कृषि पेसाबाटै मान्छे पलायन भएकाले सीप विकासमा बाधा पुगेको छ। स्वदेशका उत्पादन खस्किँदै जाने र आयातित वस्तु प्रयोग बढ्दै जाने प्रवृत्तिले नेपाली मुद्रा बाहिरिने क्रम बढ्दो छ।
नेपाली कापः का उत्पादन पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, पत्रकार भूषण दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले बेलाबेला लगाउँदै आएका छन्।