काठमाडौं। मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड आगामी तीन वर्ष पनि नोक्सानीमा जाने देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ सम्म नोक्सानीमा जाने अपर तामाकोसीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। चालू आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नोक्सानी १ अर्ब ६३ करोड १३ लाख, आगामी आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड ९२ लाख र २०८२/८३ मा नोक्सानी १५ करोड ५५ लाख रुपैयाँमा झर्ने सार्वजनिक प्रक्षेपित वित्तीय विवरणमा छ।
गत आर्थिक वर्ष कम्पनी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा थियो। अघिल्लो वर्ष २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ घाटा बेहोरेको थियो।
चालू आर्थिक वर्ष बिजुली बेचेर अपर तामाकोसीले ९ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।
यस्तै आगामी आर्थिक वर्ष ९ अर्ब ६० करोड ४६ लाख र तेस्रो वर्ष ९ अर्ब ८९ करोड २८ लाख आम्दानी गर्ने वित्तीय विवरणमा छ। गत आर्थिक वर्ष विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी भएको थियो।
चालू आर्थिक वर्ष उसले ६ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋण तिर्ने भएको छ। यस्तै आगामी वर्ष ५ अर्ब ८९ करोड १५ लाख र तेस्रो वर्ष ५ अर्ब ७७ करोड ४६ लाख ऋण तिर्ने अपर तामाकोसीले जनाएको छ। ऋण भुक्तानी अवधि १५ वर्ष छ भने औसत ब्याजदर न्यूनतम ६ देखि अधिकतम ११ प्रतिशत हुने अनुमान छ।
त्यस्तै जगेडा तथा सञ्चित कोष न्यूनतम ८ अर्ब ५९ करोडदेखि ९ अर्ब २४ करोड रुपैयाँसम्म ऋणात्मक हुने देखिएको छ।
अपरको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्ष ७.७०, आगामी वर्ष २.५५ र तेस्रो वर्ष ०.७३ रुपैयाँमा झर्ने प्रक्षेपण छ। प्रतिसेयर नेटवर्थ पनि घट्ने देखिएको छ। जसअनुसार चालू वर्ष ५९.६३, आगामी वर्ष ५७.०९ र तेस्रो वर्ष अझै घटेर ५६.३५ रुपैयाँमा सीमित हुने देखिएको छ।
हकप्रद सेयर बिक्रीपछि अपर तामाकोसीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ। उत्पादन हुने विद्युत क्षमता र विद्युत खरिद–बिक्री सम्झौताअनुसार व्यापारिक उत्पादन भएको वर्ष वर्षायाममा प्रतियुनिट ३.६३ रुपैयाँ र सुक्खायाममा प्रतियुनिट ६.९६ रुपैयाँका दरले विद्युत बिक्री हुनेछ। प्रत्येक वर्ष ३ प्रतिशतका दरले ९ वर्षसम्म विद्युत बिक्री दर वृद्घि हुने प्रावधान छ।
आयोजना बनाउन ८९ अर्ब ७० करोड
आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित ८९ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ। यस आधारमा ४ सय ५६ मेगावाट आयोजना बनाउँदा प्रतिमेगावाट लागत १९ करोड ५२ लाख ७७ हजार रुपैयाँ पुगेको अपर तामाकोसीले जनाएको छ।
आयोजना सुरु हुँदा प्रतिमेगावाट लागत ८ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो। पछि बढेर १९ करोड ५२ लाख ७७ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। सबैभन्दा सस्तो मानिएको आयोजना पनि महँगो बनेको छ।
आयोजना निर्माण गर्न वित्तिय स्रोत व्यवस्थापन स्वपुँजी (सेयर संकलनबाट प्राप्त) १० अर्ब ५९ करोड रुपैयाँ थियो। त्यसपछि सरकारबाट नेपाल विद्युत प्राधिकरणको जमानतमा प्राप्त दीर्घकालीन ऋण १३ अर्ब, कर्मचारी सञ्चय कोषबाट प्राधिकरणको जमानतमा प्राप्त दीर्घकालीन ऋण १४ अर्ब रुपैयाँ छ।
यस्तै नेपाल दूरसञ्चार कम्पनीको ८ अर्ब ४० करोड, राष्ट्रिय बिमा संस्थानको २ अर्ब ८० करोड र नागरिक लगानी कोषको दीर्घकालीन ऋण २ अर्ब ८० करोड रुपैयाँ छ। यस्तै अन्य विभिन्न संस्थाबाट प्राप्त अल्पकालीन ऋण ५ अर्ब १० करोड गरी कूल ५६ अर्ब ६९ करोड रुपैयाँ छ।
निर्माण अवधिको ब्याजमात्र ३३ अर्ब ४ करोड पुगेको थियो। योसमेत पुँजीकृत गर्दा कूल लागत झन्डै ९० अर्ब रुपैयाँ पुगेको छ।
माथिल्लो तामाकोसीको दीर्घकालीन ऋण ७३ अर्ब १५ करोड रुपैयाँ छ। यस्तै अल्पकालीन ऋण ६ अर्ब रुपैयाँ छ। सुरुमा ४४ करोड १० लाख अमेरिकी डलर लागत अनुमान छ।
त्यसबेला प्रचलित विदेशी विनिमय दर १ अमेरिकी डलरबराबर ८० रुपैयाँका दरले हिसाब गरी नेपाली मुद्रामा ३५ अर्ब २९ करोड ४१ लाख अनुमानित लागत तय भएको थियो। यो निर्माण अवधिबाहेकको लागत हो। ४१ अर्ब ६७ करोडको वित्तीय व्यवस्थापनको सुनिश्चितता भएपछि आयोजना कार्यान्वयन सुरु भएको थियो।
पुनरावलोकन समितिले तयार गरेको प्रतिवेदनअनुसार आयोजनाको संशोधित लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ हुने गरी कम्पनी सञ्चालक समितिबाट २०७४ चैत ३० गते स्वीकृत भएको थियो।
पूर्वस्वीकृत लागत अनुमान नपुग हुने भई लागत अनुमान संशोधन भएको अवस्थामा पहिले वित्तीय व्यवस्थापन भइसकेको रकममा ८ अर्ब रुपैयाँ अपुग हुने देखिएको थियो।
कम्पनीको नाफा बढेपछि प्रतिसेयर आम्दानी ३५.४९ रुपैयाँ ऋणात्मक भएको छ। प्रतिसेयर नेटवर्थ पनि घटेर ३५.६७ रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर सम्पत्ति मूल्य ८ सय २६ रुपैयाँ पुगेको छ। आयोजनाको ऋण् ८८ र स्वपुँजी अनुपात १२ (डेब्ट इक्विटी रेसियो) रहेको छ।
सञ्चालन सम्भार खर्च वार्षिक ५.५ देखि १५.५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ। यस्तै दीर्घकालीन ऋणको ब्याजदर ५.५ देखि १०.५ प्रतिशतसम्म रहने अनुमान छ।
अपर तामाकोसीले २०७८ भदौ २५ देखि व्यावसायिकरूपमा विद्युत उत्पादन थालेको हो। सरकारको दीर्घकालीन ऋण भुक्तानी १५ वर्षमा ३० किस्ता र संस्थागत ऋण लगानीकर्ताको १५ वर्षमा ६० किस्ता ऋण भुक्तानी गर्नुपर्ने दायित्व कम्पनीको छ।
हकप्रद रकम दोस्रो चरणअन्तर्गत रोल्वालिङ डाइभर्सन स्किममा लगानी हुनेछ। डाइभर्सन आयोजना निर्माणका लागि हाइहिमालय हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी साइटमा परिचालन भइसकेको छ।
दोस्रो चरणको डाइभर्सन आयोजनाबाट वार्षिक साढे ३१ करोड युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बेचेर वार्षिक २ अर्ब रुपैयाँ थप आम्दानी गर्ने अनुमान छ। यो आयोजना सञ्चालनमा आएपछि माथिल्लो तामाकोसीको वित्तीय स्वास्थ्यमा सुधारआई लगानीकर्तालाई लाभंश बाँड्ने अवस्थामा पुग्ने अपर तामाकोसीले जनाएको छ।