काठमाडौं। चाडपर्व लक्षित यातायात क्षेत्र सुधार गर्न सर्वपक्षीय कार्यदल गठन भएको छ। शुक्रबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबार सरोकारवाला सबै पक्षलाई बोलाएर महानिर्देशक रिजालको नेतृत्वमा समिति गठन गरेका हुन्।
‘यातायात क्षेत्र चुस्त नहुँदा दसैं, तिहार र छठजस्ता पर्वमा लाखौं यात्रुले सास्ती पाउँदै आएका छन्, यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं,’ मन्त्री ज्वालाले भन, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छाैं।’
यात्रु ठगिने, बिचबाटोमा अलपत्र पर्नेजस्ता सास्ती व्यहोर्नु नपरोस भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक राखेको बताएका छन्।
मन्त्रालयमा भएको बैठकमा राज्यमन्त्री नन्दा चापाईं बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधि र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।
दसैं, तिहार र छठमा राजधानी काठमाडौंबाट वर्षेनी १० लाख यात्रुले उपत्यका छोड्ने गर्छन्। यात्रुलाई सुरक्षित घर पुर्याउन मन्त्री ज्वालाले पहल थालेका हुन्। मन्त्री ज्वालाको प्रस्तावमा यातायात व्यवसायी महासंघले प्रतिबद्धता जनाएको छ।
‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिदैनौं,’ महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने।
साथै, मन्त्री ज्वालाले दसैंको बुकिङ खुल्नुभन्दा अगाडि सडक अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन दिएका छन्। ‘वर्षातका कारण सडक बिग्रेका छन् ती सडक सडक विभागले सुधार गर्नुपर्छ,’ मन्त्री ज्वालाले भने।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडक अवस्था सुधार गर्न तत्कालै टोली खटाउने बताएका छन्। त्यस्तै ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफुहरूले कुनै कसर बाँकी नराख्ने बताएको छ।
उपभोक्ता संरक्षण मन्त्रालयका प्रतिनिधिले सडक छेउका होटलले यात्रुलाई दुषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन्। मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरुसँग सहकार्य गरी निरक्षण गर्ने बताए।