काठमाडौं। ट्याक्सी भाडा बढेको चिठी हेटौंडाबाट काठमाडौं आइपुग्न २ महिना भन्दा धेरै लाग्ने भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले पछिल्लो पटक बढाएको ट्याक्सी भाडाको चिठी २ महिनासम्म नापतौल कार्यालयमा आएको छैन।
भाडा बढाउन हालसम्म कुनै पत्र नआइपुगेको गुणस्तर तथा नापतौल कार्यालयका सुचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए।
‘मन्त्रालयले भाडा बढायो भन्ने सुनेको त हो। तर, हामीलाई कुनै औपचारी पत्र आएको छैन। पत्र आएपछि प्रकृया सुरु गर्छौं,’ उनले क्यापिटल नेपालसगँ भने।
नेपाल आयल निगमले गत साउन ३१ गते पेट्रोलियम पदार्थको भाउ बढाएपछि प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको थियो।मन्त्रालयको गत भदौ ४ गते बसेको मन्त्रिरस्तरिय बैठकले साउन ७ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो।
मन्त्रालयले सुरुवाती कल (फ्ल्याग डाउन) ५२ रुपैयाँ कायम राखेर प्रति २०० मिटरको भाडादर १० रुपैयाँबाट बढाएर १० रुपैयाँ ३४ पैसा बनाएको थियो भने प्रतिक्षा शुल्क पनि १.२० मिनेटको बढाएर १ रुपैयाँ २४ पैसा बनाइएको छ।
त्यसैगरी रात्रिकालिन ट्याक्सी सेवाको भाडादर फ्ल्याग डाउन ५२ रुपैयाँलाई यथावत राखी बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति २ सय मिटरको १५ रुपैयाँ ५२ पैसा बनाइएको थियो।
भाडा बढाउन नापतौल विभागमा पत्र पठाउनका लागि सम्बन्धित फाँटमा जानकारी गराईसकिएको मन्त्रालयका सुचना अधिकारी खगेन्द्र पौडेलले बताए।
‘हामीले फाँटमा त, विभागमा पत्र काट्न भनिसकेका थियौं। हुलाकबाट पठाउनु भयो की, त्यसो हो भने पत्र पुग्दै होला,’ उनले भने।
नयाँ भाडा व्यवसायीले नमान्ने
अहिले बढाइएको भाडा कुनै हालतमा नमान्ने बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपाल बताउँछन्।
‘यो निणर्य हामी कुनै हालतमा मान्दैनौं। अहिले सरकारले अवैज्ञानिक ढंगले भाडा बढाएको हो। अहिलेसम्म बढेको इन्धनको मूल्य र अन्य खर्च हेर्दा यो भाडा वृद्धिले ट्याक्सी चालकमाथि अन्याय गरेको छ,’ उनले भने। सरकारले वैज्ञानिकरूपमा स्वचालित भाडा दर भएको लागु गर्नुपर्ने उनको तर्क छ।
मिटर अपडेट गर्न फेरी महिनौं लाग्ने
सरकारले भाडा समायोजन गरे पनि सबै ट्याक्सीको मिटर अपडेट गर्न फेरि महिनौं पर्खिनु पर्नेछ। गुणस्तर तथा नापतौल कार्यालयका अनुसार दैनिक अधिकतम ७० ट्याक्सीमा मात्र अपडेट गर्न सकिन्छ। यो हिसाबले उपत्यकामा सञ्चालित १२ हजार ट्याक्सीको मिटर अपडेट गर्न करिब ६ महिना लाग्ने अनुमान गर्न सकिन्छ।